काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.लाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज गरेको छ ।
बैंकद्वारा जारी सूचनाअनुसार यी दुवै संस्थाहरूले भुक्तानी तथा फर्स्योट ऐन, २०७५, भुक्तानी तथा फर्स्योट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७७ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लंघन गरेका कारण अनुमति खारेज गरिएको हो ।
भुक्तानी तथा फर्स्योट ऐनको दफा ३५ को उपदफा (१) को खण्ड (च) बमोजिम राष्ट्र बैंक सञ्चालक समितिले बिहीवार (आज) ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।
पेवेल नेपालले २०७७ असोज ११ गते र सजिलो पे पेमेन्ट सर्भिसेजले २०७७ चैत १७ गते अनुमति पाएका थिए ।