काठमाडौं । नेपाल पर्यटन बोर्ड र ढाकास्थित नेपाली राजदूतावासको सहकार्यमा बंगलादेशको चट्टग्राममा ‘नेपाल-बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ । ‘गन्तव्य नेपाल: बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहितको उक्त कार्यक्रम नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्ध अझ सुदृढ बनाउन आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल-बङ्गलादेश सम्बन्धको आधारशिला भएको उल्लेख गरे । उनले दुई देशबीचको बढ्दो आपसी सम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औंल्याउँदै भने, “हिमालयको शिखरसँग बंगालको गहिराइलाई साँच्चिकै जोड्न ठोस पहलको आवश्यकता छ।” साथै, उनले नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा गरिरहेका कामहरूबारे जानकारी दिँदै निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सक्रिय भूमिकाको समेत प्रशंसा गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रवर्द्धन विभागका कार्यवाहक निर्देशक रोहिणीप्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यहरूबारे प्रस्तुति दिएका थिए । उनले बङ्गलादेशलाई नेपालको प्रमुख स्रोत बजारमध्ये एकको रुपमा चिनाउँदै नेपाली गन्तव्यमा बङ्गलादेशी पर्यटकको आकर्षण बढिरहेको तथ्य प्रस्तुत गरे । उनले दुवै देशका ट्राभल एजेन्टहरूबीच आपसी सहकार्यलाई अझै सशक्त बनाउन आह्वान गरे ।
कार्यक्रममा सन् २०२४ मा सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही बाबर अलीले नेपाल भ्रमणका प्रेरणादायी अनुभवहरू स्मरण गरेका थिए । हालै अन्नपूर्ण हिमाल आरोहण गरेका उनले नेपालमा प्राप्त अतिथि सत्कार, प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पर्वतीय चुनौतीहरूबारे जानकारी दिएका थिए ।
बङ्गलादेशका ट्राभल व्यवसायी संस्थाहरू— एशोसिएशन अफ ट्राभल एजेन्ट्स अफ बङ्गलादेश (एटीएबी) तथा टुर अपरेटर्स एशोसिएशन अफ बङ्गलादेश (टीओएबी) चट्टग्राम शाखाका अध्यक्षहरूले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास, व्यापारिक साझेदारी र भविष्यका सम्भावनाहरूबारे चर्चा गरेका थिए ।
कार्यक्रममा 'र्याफल ड्र'मार्फत बङ्गलादेशका सहभागीहरूलाई नेपाल भ्रमण प्याकेज र ढाका–काठमाडौं आउने जाने हवाई टिकटसमेत प्रदान गरिएको छ । उक्त पुरस्कारहरू नेपाली ट्राभल एजेन्सीहरू, हिमालय एयरलाइन्स र बङ्गलादेश एयरलाइन्सको सहकार्यमा उपलब्ध गराइएको जनाइएको छ । यसैबीच नेपाल र बङ्गलादेशका ट्राभल एजेन्सी तथा टुर अपरेटरहरूबीच बीटुबी बैठक र नेटवर्किङ सत्रहरू भएका थिए ।