काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’को तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् । समग्रमा १६–अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुवाश तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । पहिलो दिनका संयुक्त लिडर सुवाशले समग्रमा १५–अन्डर २ सय १ स्कोर बनाएका छन् । एमेच्योर सदभाव आचार्य समग्रमा १३–अन्डर २ सय ३ स्कोर सहित तेस्रो स्थानमा छन् । ११–अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरूपमा चौथो स्थानमा रहे ।
भुटानका निम दोर्जी तामाङ समग्रमा ८–अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन्, उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७–अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौं स्थानमा छन् । प्रतियोगितामा समग्रमा ३–अन्डर २ सय १३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रवि खड्का आठौं स्थानमा छन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको बताइएको छ । विजेताले उपाधिसहित ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ ।