काठमाडौं । काठमाडौं महानगरपालिका–३ पाँचमानेमा ‘वन जंगल एडभेञ्चर’ सञ्चालनमा आएको छ । काठमाडौं उपत्यका नजिक प्राकृतिक वातावरणमा रमाउन चाहनेका लागि नजिकको साहसिक गन्तव्यको रूपमा वन जंगल एडभेन्चर सञ्चालनमा आएको बताइएको छ । काठमाडौंको माछापोखरीबाट ककनीतर्फ १० किलोमिटरको बाटो पाँचमानेमा सडकबाट थोरै माथि हरियाली जंगलको बीचमा एडभेञ्चर अवस्थित छ ।
साहसिक खेल, खानपान, नाचगान, पिकनिकसहित खेलमय वातावरणको अवधारणामा एडभेञ्चर सञ्चालनमा ल्याइएको यसका सञ्चालक एलिस ढकालले जानकारी दिए । जिपलाइन, रोलर कोस्टर, क्लाइम्बिङ वाल, अब्स्ट्याकल इभेन्ट, किड्स एडभेञ्चर्स, ट्रि ट्रिप एडभेञ्चर, ३६० डिग्रीको साइकल खेल र जाइन्ट स्वीङको गतिविधिले एक दिनको समय भरपूर उपयोग गर्न सकिने उनको भनाइ छ ।
३० रोपनी क्षेत्रफलमा फैलिएको एडभेञ्चरमा हालसम्म ८ करोड रुपैयाँभन्दा बढी लगानी भएको र ३० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएको उनले बताए । नेपालमै पहिलो पटक ‘रोलर कोस्टर जिपलाइन’ रहेको उनको दाबी छ । अन्तरराष्ट्रिय प्रविधि प्रयोग गरिएको रोलर कोस्टर जिपलाइन यहाँभित्रको रोमाञ्चक र प्रमुख खेल हो, जुन ६०० मिटर लामो छ । यहाँका रोमाञ्चक खेल गतिविधिले यहाँ भुल्न र रमाउन चाहनेलाई शारीरिक र मानसिक स्फूर्ति समेत मिल्ने अर्का सञ्चालक एलिसा ढकालले बताइन् । बालबालिकाको लागि पनि वाल क्लाइम्बिङलगायतका किड्स अब्स्टयाकल जस्ता गतिविधिले व्यस्तता बढाइदिएको छ ।
हिमालयन माउण्टेनेरिङ एक्सपीडिसनका प्रबन्ध निर्देशक उत्सव पाठकले काठमाडौं नजिकै प्राकृतिक वातावरणमाा यति धेरै साहसिक गतिविधि गर्न पाउनु खुशीको विषय भएको बताउँछन् । हिमालयन माउण्टेनेरिङ एक्सपीडिसनका अध्यक्ष एवम् हिमाल आरोही निङमा दोर्जेले वन जंगल एडभेञ्चरले तयार गरेको पूर्वाधार ठूला साहसिक गतिविधितर्फ रूचि राख्नेका लागि पहिलो खुड्किलो हुने बताउँछन् । ‘यो मनोरञ्जन र साहसिक खेलतर्फ अघि बढ्ने खुड्किलो हो, निजी क्षेत्रको पर्यटकीय पूर्वाधार विस्तारका लगानीमा सबैले साथ दिनुपर्छ,’ उनले भने ।