काठमाडौं। नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले गत हप्ता काठमाडौंमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संघकी अध्यक्ष मीरा भट्टराईले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा सरकारले ल्याएका नीति र यसबाट उद्यमी तथा व्यवसायीले कसरी लाभ लिन सक्छन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले सरकारको उक्त नयाँ नीति सराहनीय कदम भएको महसूस गरेको भन्दै यसबाट हस्तकलाको प्रवर्द्धनमा विशेष सहयोग पुग्नुका साथै हस्तकलाको स्थानीय तथा निर्यातमा समेत सकारात्मक प्रभाव पार्नेमा आशावादी रहेको बताइन् ।
कार्यक्रमका स्रोत व्यक्ति लघु, घरेलु तथा साना उद्योग केन्द्रका कार्यकारी अधिकृत छविन्द्र पराजुलीले घरेलु उत्पादनलाई आधुनिकीकरण गर्दै स्थानीय बजारका साथै निर्यातमा आएको शिथिलतालाई उकास्ने ध्येयले सरकारले उक्त नीति तयार गरेको बताए ।
स्थानीय कच्चापदार्थलाई उपयोग गर्दै विदेशमा शीप सिकेर आएका स्वदेशी युवा उद्यमीलाई सहभागी गराई उनीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउँदै नेपाली वस्तुको उत्पादन तयार गर्न अभिप्रेरित गर्ने मुख्य उद्देश्य रहेको जानकारी दिएका थिए । उनले यसका लागि बीउ पूँजी, प्राविधिक सहयोग र आधुनिक प्रविधि भित्त्याएर वा अन्य के कस्तो तरीकाले सम्भव हुन्छ, त्यसको पहिचान समेत यस क्षेत्रमा लागेका अनुभवी उद्यमी र व्यवसायीकै सल्लाह र सुझावबाट प्राप्त गरी अघि बढ्ने उल्लेख गरे ।
हस्तकलाका क्षेत्रका व्यवसायका लागि विशेष स्थान दिइएको भन्दै यसको कच्चापदार्थको व्यवस्थामा सहजीकरणदेखि उत्पादनका साथै स्थानीय एवं निर्यातमा समेत प्राथमिकताका साथ आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराई प्रवर्द्धन गर्ने नीति लिएको बताए ।