काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा बढाउने तयारी गरेको छ । प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा पुनरवलोकन गर्न समिति गठन गरेको हो । यससँगै ७ वर्षअघि निर्धारण भएको भाडा २० देखि २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।
‘आन्तरिक हवाई भाडा नियमन निर्देशिका २०७३’ अनुसार हवाई भाडा निर्धारण गर्दै आएको प्राधिकरणले विभिन्न ३ सेक्टर तोकेर भाडा तय गर्छ । यसअनुसार सुगम (ट्रंक), दुर्गम (स्टल) र पर्यटकीय (टुरिस्ट) सेक्टरमा प्राधिकरणले न्यूनतम र अधिकतम हवाई भाडा निर्धारण गर्छ । अहिले सुगम सेक्टरमा २०७३ र दुर्गममा २०७५ सालमा प्राधिकरणले निर्धारण गरेको हवाई भाडा कार्यान्वयनमा छ ।
लामो समयसम्म पनि हवाई भाडा पुनरवलोकन नगरिएको भन्दै वायुसेवा प्रदायक कम्पनीहरूले भाडा बढाउन प्राधिकरणलाई बारम्बार आग्रह गर्दै आएका छन् । प्राधिकरणले अहिले भाडा बढाउने गरी पुनरवलोकनको तयारी गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले ७ वर्षअघि निर्धारण गरेको हवाई भाडा अहिलेसम्म लागू भइरहेकाले समयसापेक्ष हुने गरी पुनरवलोकन गरिने बताए । समिति गठन भएर सरोकारवालासँग एक चरणमा छलफलसमेत गरिसकेको उनले बताए । यो समितिले हवाई भाडाका लागि मोडालिटी तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिफारिश गर्नेछ । समितिले ३ महीनाभित्रमा भाडा पुनरवलोकन सम्बन्धमा मन्त्रालयलाई सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । हवाई भाडा बढाउने विषय मन्त्रिपरिषद्मा प्रस्ताव पेश हुने र त्यहाँबाट स्वीकृत भएपछि मात्रै आन्तरिकतर्फको उडानमा नयाँ भाडा निर्धारण हुनेछ ।
‘प्राविधिक विषय भएकाले यसका लागि सम्बद्ध वायुसेवा कम्पनीहरूको अपरेशन तथ्यांक आवश्यक हुन्छ,’ भूलले भने, ‘७ वर्षअघि अमेरिकी मुद्रा (डलर)को भाउ र नेपाली मुद्राको सटही दर, हवाई पार्टपुर्जाको मूल्य अर्कै थियो । त्यसैले अब पुनरावलोकन हुँदा स्वत: भाडा बढ्छ नै ।’
उनका अनुसार पहिला दुर्गममा ट्वीनअटर जहाज र सुगममा जेटस्ट्रीम र एटीआर–४२ जहाजको आधारमा मूल्य निर्धारण गरिएको थियो । अब अहिले नयाँनयाँ जहाज आएको हुँदा सञ्चालन खर्च फरक रहेको हुँदा त्यसको सम्पूर्ण मुल्य निकाल्नुपर्ने हुन्छ । ‘वायुसेवा कम्पनीहरूले आफैले कमाएर आफै भाडा तय गर्नुपर्ने हो,’ उनले भने, ‘यद्यपि न्यूनतम र अधिकतम भने प्राधिकरणको ऐन/कानूनले नै निर्धारण गरिएको छ, जसअनुसार अधिकतम भाडाभन्दा माथि नगईकन न्यूनतम र अधिकतमको बीचलाई टेकेर माग र आपूर्तिका आधारमा कम्पनीले मूल्य तोक्ने गर्छन् ।’ उनका अनुसार प्राधिकरणले निर्धारण गर्ने वास्तविक भाडादर १० देखि १५ प्रतिशतसम्म बढ्न सक्छ । ‘यद्यपि यात्रुहरूले खरीद गर्ने टिकटको मूल्य भने थप बढ्ने छ,’ उनले भने, ‘किनभने मूल्यअभिवृद्धि कर (भ्याट) बढेको हुँदा यात्रुले कुल अन्तिम टिकट खरीद गर्ने मूल्य भने २० देखि २५ प्रतिशतसम्म बढ्न सक्छ ।’
- हवाई भाडा पुनरवलोकन गर्न समिति गठन
- २०–२५ प्रतिशतसम्म बढ्ने सम्भावना
लामो समयदेखि पुनरावलोकन नभएको, वायुसेवा कम्पनीहरूले जेट इन्जिन जहाजहरू आन्तरिक उडानमा पनि प्रवेश पाइसकेका छन् । यसले गर्दा हवाई भाडामा पुनरावलोकन गर्नुपर्ने माग वायुसेवा प्रदायक कम्पनीहरूले गर्दै आएका छन् । प्राधिकरणले तोक्ने भाडाबाहेक यात्रुले किन्ने अन्तिम टिकट मूल्यमा हवाई इन्धनको मूल्य पनि समावेश हुन्छ । यसको मूल्य घटबढ हुने आधारमा वायुसेवा कम्पनीहरूले नै इन्धन सरचार्ज लगाउने गर्छन् ।
निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरका बजार प्रबन्धक रूपेश जोशीले विगतदेखि नै हवाई भाडादर बढाउन आग्रह गर्दै आएको बताए । ‘२/२ वर्षमा बढाउनुपर्ने हवाई भाडा ७ वर्षसम्म पनि बढाइएको छैन,’ जोशीले भने, ‘७ वर्षमा डलरको भाउ निकै बढेको छ, उड्डयन क्षेत्र नै महँगो भएकाले सरकारसँग आग्रह गरिएको हो, यात्रुलाई समस्या हुनसक्छ मूल्य बढ्दा । तर, सबै कुरा महँगो हुँदा वायुसेवा कम्पनीहरूलाई गाह्रो नै छ ।’