बेरुत(लेबनान) इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको एएफपिटिभीले जनाएको छ । इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा मङ्गलबारदेखि निरन्तर आक्रमण गरेको जनाउदै एएफपिटिभीले शनिबार बिहान उक्त क्षेत्रका भवनहरूबाट धुवाँ उडेको देखाइएको छ ।
आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा हारेट ह्रीक उपनगरका बासिन्दाहरूलाई उक्त क्षेत्र खाली गर्न आह्वान गरेका थिए । पोष्टमा अरबी भाषामा "तपाईँ हिजबुल्लाहका सुविधाहरु नजिक हुनुहुन्छ, यसको बिरूद्ध इजरायली सेनाले शिघ्र आक्रमण गर्नेछ", भन्दै कम्तिमा ५०० मिटर टाढा जान आग्रह गरिएको थियो ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले "इजरायलले" तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ । पछिल्लो समयमा दक्षिण बेरुतमा भएको बारम्बारको इजरायली हवाई आक्रमणले यस क्षेत्रबाट नागरिकहरूको ठूलो पलायन निम्त्याएको छ । दक्षिणी लेबनानमा, इजरायलले शुक्रबार राति र शनिबार बिहान धेरै आक्रमणहरू गरेको एनएनएले जनाएको छ ।
यसै गरी हिजबुल्लाहले रातारात, उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ । गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ, भने हिजबुल्लाहले स्थलगत सेना तैथान गरेको छ । लेबनानी अधिकारीहरूका अनुसार गत वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायल विच आक्रमण सुरु भए देखि तीन हजार ४४० भन्दा बढी मानिसहरुको मृत्यु भएको छ । द्वन्द्वले लेबनानमा पाँच अर्ब डलर भन्दा बढी आर्थिक नोक्सान पुर्याउनुका साथै संरचनात्मक क्षति अरबौं भन्दा बढी भएको विश्व बैङ्कले जनाएको छ । रासस/एएफपी