वैशाख १८, काठमाडौं ।
सूचनाप्रविधिमा उद्यमशीलता विकास गर्ने उद्देश्यले इटाली सरकारले सञ्चालन गरेको ‘टेक पिक्स’ नामक कार्यक्रममा नेपाली युवा समूह छनोट भएको छ । इटालीमा प्रविधिको क्षेत्रमा व्यावसायिकता तथा रोजगारी सृजना गर्न पहिलोपटक सञ्चालन गरिएको सो कार्यक्रममा ‘एटीएट याक’ नामक नेपाली युवा समूह छनोट भएको हो । विश्वभर सूचनाप्रविधिमा नवीनतम काम गर्दै आएका उद्यमशील युवा समूह, कम्पनी तथा व्यक्तिलाई सो कार्यक्रममा सहभागी गराइएको थियो । एटीएट याकको ‘स्ट्याक रेजुमे’ नामक रोजगारीसँग सम्बन्धित वेबसाइट उक्त कार्यक्रममा छानिएको समूहका प्रतिनिधि तथा वेब डेभलपर विमल महर्जनले जानकारी दिए । सो कार्यक्रमका लागि विश्वभरबाट ६ सय कम्पनी, समूह तथा व्यक्तिले आवेदन दिएकोमा उत्कृष्ट ७२ ओटा समूह छनोट हुन सफल भएका थिए ।
गत फेबु्रअरीदेखि अप्रिल महीनाको ५ तारीखसम्म सो कार्यक्रमका लागि आवेदन खुल्ला गरिएको थियो । यसको अन्तिम नतिजा गत बुधवार टेक पिक्सको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक भएको थियो । छनोटमा परेका समूहले ६ महीना इटालीमा काम गर्न पाउनेछन् । समूहका लागि आवश्यक कार्यालय, कर्मचारी तथा अन्य सबै खर्च इटली सरकारले नै बेहोर्नेछ । यसरी उपलब्ध गराइने कार्यालयको सम्पूर्ण स्वामित्व पनि समूहलाई हस्तान्तरण गरिने महर्जनले जानकारी दिए । त्यसबाहेक त्यहाँका विश्वविद्यालयमा पनि उक्त समूहले आफ्नो उत्पादन प्रवद्र्धन गर्ने अवसर पाउनेछन् । सूचनाप्रविधिसँग सम्बन्धित विश्वका उत्कृष्टकम्पनीले पनि छनोट भएका समूहलाई तालीम प्रदान गर्ने महर्जनले बताए । ‘छनोटमा परेपछि नेपाली उत्पादन पनि विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्षम छ भन्ने सन्देश फैलिएको छ,’ उनले भने, ‘सूचनाप्रविधिमा उद्यमशीलता खोज्ने व्यक्तिलाई यो राम्रो उदाहरण हुन सक्छ ।’
समूहले विकास गरेको स्ट्याक रेजुमेले रोजगारीका लागि आवेदन दिने मानिसको ‘मल्टिपल रेजुमे’ निर्माणमा सहयोग पुर्याउँछ । यस्तै रोजगारीका लागि आवश्यक सबै किसिमको व्यवस्थापन गर्न पनि यो प्रडक्टले सहयोग गर्ने महर्जनले जानकारी दिए । छनोटमा परेका सबै समूह आगामी मे २७ भित्र इटाली पुगिसक्नुपर्नेछ । त्यहाँ पहिलो चरणमा विभिन्न समूहले आफ्नो उत्पादनबारे जानकारी गराउनुपर्नेछ । सो चरणमा उत्कृष्ट भएका समूहले २५ हजार यूरो पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । यसअघि चिली सरकारले सञ्चालन गरेको यस्तै प्रकृतिको कार्यक्रममा नेपालको जानकी टेक्नोलोजी छनोटमा परेको थियो ।