जेनेभा । बेलायतका व्यापारमन्त्री डगलस अलेक्जेन्डरले अन्तरराष्ट्रिय व्यापारलाई बेलायतको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण चालकका रूपमा हेरिएको भन्दै युरोपेली संघ (ईयू)सँगको आफ्नो व्यापारिक सम्बन्ध पुनर्स्थापित गर्न तत्काल काम गरिरहेको बताएका छन् ।
एलेक्जेन्डरले सन् २०१६ मा ईयूबाट बाहिरिने बेलायतको निर्णयले उसको व्यापार नीतिमा ठूलो असर परेको बताएका छन् । विश्वव्यापी व्यापार रणनीतिलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता समेत रहेको उनको भनाइ छ ।
सन् २०२५ को मेमा प्रकाशित हुने बेलायतको नयाँ, दीर्घकालीन व्यापार योजनालाई आकार दिने प्रयासअन्तर्गत विश्व व्यापार संगठन (डब्लुटीओ)का प्रमुखलाई भेट्न उनी सोमवार जेनेभा पुगेका थिए ।
अलेक्जेन्डरको भ्रमणले विश्व व्यापार संगठन र बहुपक्षीय व्यापार प्रणालीप्रति आगामी सरकारको दृढ प्रतिबद्धता रहेको देखिएको छ । गत जुलाईमा प्रधानमन्त्री केइर स्टार्मरको नरम-वामपन्थी लेबर पार्टीले संसदमा निर्णायक बहुमत हासिल गर्दै कन्जरभेटिभ पार्टीलाई १४ वर्षपछि सत्ताच्यूत गरेको थियो ।
यस विजयले बेलायतलाई निकट भविष्यका लागि 'जी-७ मा राजनीतिकरूपमा स्थिर लोकतन्त्र' बनाएको अलेक्जेन्डरले बताएका छन् । 'राजनीतिक स्थिरताले आर्थिक प्रगतिको ग्यारेन्टी नगरे पनि यसले पक्कै पनि मद्दत गर्छ,' अलेक्जेन्डरले भनेका छन् ।
अलेक्जेन्डरले ब्रिटिस अर्थतन्त्रलाई उत्प्रेरित गर्ने 'स्टार्मर' सरकारको प्राथमिक मिसनमा व्यापार वृद्धिले महत्त्वपूर्ण भूमिका खेलेको बताए । आर्थिक र वित्तीय स्थायित्व हासिल गर्नका लागि व्यापार एउटा प्रमुख औजार हो ।
अघिल्लो वर्षको उत्तरार्धमा हल्का र छोटो आर्थिक मन्दीको सामना गरेको बेलायती अर्थतन्त्र सन् २०२४ को दोस्रो त्रैमासिकमा ०.५ प्रतिशतले वृद्धि भएको थियो । 'ब्रेक्जिटपछिको व्यापारको आँकडा चुनौतीपूर्ण छ,' अलेक्जेन्डरले भनेका छन्, 'बेलायतको ४७ प्रतिशत व्यापार अझै पनि ईयूसँग छ। तसर्थ, यो सम्बन्धलाई पुनर्स्थापित गर्नु अत्यावश्यक छ।'
अलेक्जेन्डरले आफ्नो जेनेभा भ्रमण बेलायतको विकसित व्यापार रणनीतिलाई आकार दिन विश्व व्यापार संगठनले खेल्न सक्ने भूमिकाबारे 'सुन्ने, सिक्ने र प्रतिबिम्बित गर्ने' अवसर भएको बताएका छन् । सन् २०२० मा ईयूबाट बाहिरिएयता बेलायतले विश्व व्यापार संगठनमा आफ्नो प्रतिनिधित्व भने गरिसकेको छ, जसमा ईयूसहित १६६ सदस्य राष्ट्र छन् ।
८१ प्रतिशत सेवामा आधारित अर्थतन्त्र भएको बेलायतको डिजिटल व्यापार विस्तारमा राष्ट्रिय हित महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे ।
अलेक्जेन्डरले विश्व व्यापार संगठनलाई 'अन्तरराष्ट्रिय सहयोगको लागि अपरिहार्य संस्था'को रूपमा वर्णन गर्दै यसको लागि बलियो समर्थन रहेको बताए । उनले विश्व व्यापार संगठनका महानिर्देशक नगोजी ओकोन्जो-इवेलाको प्रस्तावलाई पनि समर्थन गरे।
'बहुपक्षीय व्यापार प्रणाली हामीले व्यापार रणनीतिमा हासिल गर्न चाहेको धेरै कुराको आधार हुनेछ,' उनले भने।
यसै महीनाको शुरुमा विश्व व्यापार संगठनले सन् २०२५ का लागि विश्वव्यापी वस्तु व्यापार वृद्धिको अनुमानलाई संशोधन गर्दै यसलाई ३.३ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो । एएफपी