काठमाडौं । अमेरिका र चीनबीच जेनेभामा व्यापार वार्ता शुरू भएको छ । जेनेभामा शुरू भएको वार्तामा चिनियाँ पक्षको नेतृत्त्व उपप्रधानमन्त्री हि लिफङले र अमेरिकी पक्षको नेतृत्त्व अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएलगत्तै उनले चीनसँगको व्यापारमा अमेरिकाले ठूलो घाटा बेहोर्दै आएको भन्दै चीनबाट हुने आयातमा करको दर बढाउँदै गएपछि दुवै देशबीच तनाव बढ्दै गएको थियो । करिब ४ महिनाको तनाव‚ वाक्युद्ध र एकअर्काका वस्तु आयातमाथि अत्यधिक कर वृद्धिपछि अन्ततः आज दुवै देशबीच व्यापारकेन्द्रित वार्ता जेनेभामा शुरू भएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट हुने आयातमा करको दर बढाएर १४५ प्रतिशत पुर्याएपछि तत्कालै चीनले पनि अमेरिकाबाट हुने आयातमा करको दर बढाएर १२५ प्रतिशत पुर्याएको थियो ।
आपसी व्यापारमा दुवैले एकअर्कामाथि आरोप-प्रत्यारोप गर्दा दुवैबीच व्यापारिक गतिरोध उत्पन्न भएको थियो । तर दुवैले वार्तामा बसेर गतिरोध अन्त्य गर्ने प्रयास भने अमेरिका-चीन दुवैले नै नगर्दा व्यापार प्रभावित भएको थियो ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच उत्पन्न व्यापारिक गतिरोधले विश्वभरि नै आर्थिक मन्दी छाउनसक्ने आशंकाबीच वार्ता शुरू भएको छ । वार्ताले दुवै देशबीचको अविश्वास मत्थर पार्ने र व्यापार सहज पार्ने अपेक्षा गरिएको छ ।