काठमाडौं । जगदुल्ला हाइड्रोपावरको ठेक्का हात पार्न एक चिनियाँ कम्पनीले नक्कली कागजात पेश गरेका आरोप लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
गत अप्रिल २२ मा जगदुल्ला हाइड्रोपावर कम्पनीले परियोजनाको सिभिल र हाइड्रो मेकानिकल कामको लागि चिनियाँ कम्पनी जियाङ्सी कन्सट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन (जेसीई) र सिनो हाइड्रो कर्पोरेशन लिमिटेड प्राविधिक प्रस्तावको मूल्यांकनमा उत्तीर्ण भएको भन्दै सूचना निकालेको थियो ।
उनीहरूको वित्तीय प्रस्ताव मूल्यांकनपछि निर्माण कम्पनी छनोट गर्ने जानकारी पनि कम्पनीले दिएको थियो । जगदुल्लाले इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा १०६ मेगावाटको यो परियोजना निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।
- प्रतिस्पर्धीले नक्कली कागज पेश गरेर ठेक्का हात पार्न खोजेको भन्दै अर्को चिनियाँ कम्पनीबाट प्रहरीमा उजुरी
- तोकिएको योग्यता पुष्टि गर्ने कागजात नक्कली भएको उजुरीकर्ताको दाबी
- पेश गरेको कागजात नक्कली भएको भन्दै सम्बद्ध कम्पनी दाबी गर्नेबाट समेत जगदुल्लामा पत्र प्राप्त
- पत्र पठाइएको इमेल आधिकारिक हो/होइन पुष्टि हुन बाँकी
- गलत कागजात पेश गरेको पुष्टि भए चिनियाँ जेसीई र नेपाली साझेदार एएनके कन्सट्रक्शन कारबाहीमा पर्ने
तर, सिनो हाइड्रोले अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनीले नक्कली कागजात पेश गरी जलविद्युत् परियोजनाको ठेक्का हात पार्न लागेको भनी निवेदन दर्ता गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले चिनियाँ कम्पनी सिनो हाइड्रोले सीआईबीको कार्यालयमा अनुसन्धान गर्न निवेदन दर्ता गरेको र त्यसबारेमा अनुसन्धान भइरहेको बताए ।
‘जेसीईले जगदुल्ला हाइड्रोपावरको ठेक्का पाउन फर्जी कागजात पेश गरेकोले अनुसन्धान गरीपाउँ भनी निवेदन दर्ता गराएको छ, त्यसमा अनुसन्धान भइरहेको छ,’ खड्काले भने ।
सबैभन्दा कम मूल्य कबोल गरेकाले जेसीई र उसको ज्वाइन्ट भेन्चर पार्टनर एएनके कन्सट्रक्शन नेपाल जेभीले ठेक्का पाउने निश्चितजस्तै बनेको जगदुल्ला कम्पनीका एक उच्च अधिकारीले बताए । ‘सिनो हाइड्रोले मूल्य अभिवृद्धि करसहित १५ अर्ब ७ करोड रुपैयाँ र जियाङ्सी र एएनकेको संयुक्त उपक्रमले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका छन्,’ ती अधिकारीले भने । यसै बेला जेसीईले पेश गरेको कागजमा विवाद आएपछि यसबारे के हुने हो त्यसै भन्न नसकिने कम्पनीका अधिकारी बताउँछन् ।
डोल्पा जिल्लाको जगदुल्ला नदीमा बन्ने उक्त आयोजनाको ठेक्का हात पार्ने उद्देश्यले जेसीई/एएनके कन्सट्रक्शनले यसअघि पनि जलविद्युत् आयोजना निर्माण गरिसकेको अनुभवको योग्यता पुर्याउन नक्कली कागजतात पेश गरेको भन्ने आरोप छ । जेसीईले हेचाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनीको लागि चीनमा ९० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको कागजात पेश गरेको थियो ।
तर, गत बिहीवार आफूलाई हेचाउ कम्पनी दाबी गर्दै जगदुल्ला हाइड्रोपावर कम्पनीलाई लेखिएको एक पत्रमा जेसीईले पेश गरेको कागजात नक्कली रहेको दाबी गरेको छ । आर्थिक अभियानलाई प्राप्त उक्त पत्रअनुसार जेसीईले आफ्नो कम्पनीको कुनै विद्युत् परियोजना नबनाएको र निर्माण गरेको दाबी गरिएको ९० मेगावाटको साङचेङ हाइड्रोपावर प्रोजेक्ट धेरै अघि नै आर्थिक कारणले रद्द गरिएको जनाइएको छ । हेचाउ शाङचेङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेडको साखलाई उपयोग गर्दै ‘शाङचेङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेड’ र ‘शाङचेङ जलविद्युत् स्टेशन’को नाम दुरुपयोग गरी जालसाजीपूर्ण काम गरेको पत्रमा उल्लेख गरिएको छ ।
‘हाम्रो कम्पनीको नाममा अवैध रूपमा सम्पर्क इमेलहरू दर्ता गर्ने, सम्पर्क नम्बरहरू बनाउने र शाङचेङ जलविद्युत् स्टेशन निर्माण र सम्पन्न गरेको झूटा दाबी गरेर बोली लगाउने र छल गर्ने उद्देश्यले हाम्रो आधिकारिक छापको दुरुपयोग भएको छ ।’ जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हेचाउको लेटरहेड सहितको डिजिटल पत्र कुनै अज्ञात इमेलमार्फत प्राप्त भएको आर्थिक अभियानलाई बताए ।
उनका अनुसार उक्त पत्रमा जेसीईले पेश गरेको कागजात नक्कली भएको दाबी गरिएको छ । यद्यपि जगदुल्लालाई पत्र पठाइएको इमेल हेचाउकै आधिकारिक हो/होइन भन्ने अझै पुष्टि भइनसकेको उनले बताए ।
‘जेसीईले ठेक्का प्रक्रियामा सहभागी हुँदा खेरी हेचाउ साङचेङ कम्पनीसँग मिलेर चीनमा जलविद्युत् आयोजना बनाएको कागजात पेश गरेको छ । सो कागजात पेश गर्ने क्रममा जेसीईले हेचाउ कम्पनीको इमेल ठेगाना र फोन नम्बरसमेत उल्लेख गरेको थियो,’ उनले भने‚ ‘तर, अहिले जेसीईले पेश गरेको कागजात नक्कली हो भनेर दाबीसहित हामीलाई प्राप्त भएको इमेल ठेगाना र जेसीईले आवेदन दिँदा पेश गरेको ठेगाना र फोन नम्बर मिलेको छैन ।’
उनका अनुसार यस विषयमा सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन् । ‘अनुसन्धानबाट गलत कागजात पेश भएको पुष्टि भएमा जेसीई र एएनके दुवै कम्पनीलाई कानूनअनुसार कालोसूचीमा राख्नेलगायत कारबाही हुनेछ,’ सापकोटाले भने ।