काठमाडौं । जीवन बीमा क्षेत्रकै बिग मर्जरको रूपमा रहेको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जरपछि वैशाख २ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । गत वैशाख २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले माघ १ गते अन्तिम सम्झौता गरिसेका छन् ।
प्राविधिक कारणले मर्जर प्रक्रिया सम्पन्न गर्न ढिलाइ भएको जानकारी यी कम्पनीहरूले दिएका छन् । प्राइम लाइफ इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव राजन प्रसाद अधिकारीले वैशाख २ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी भइरहेको बताए ।
कम्पनीहरूबाट वैशाख २ गतेदेखि एकीकृत कारोबारको तयारी भइरहेको जानकारी दिएका उनले एकीकृत कारोबारको आधिकारिक सूचना भने सार्वजनिक हुन बाँकी रहेको बताए । तीन कम्पनी एक भई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने जानकारीसमेत अधिकारीले दिएका छन् । उनका अनुसार मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थान मनकामना मार्ग नक्साल, काठमाडौंमा रहनेछ ।
बीमा कम्पनीहरूले आगामी चैत मसान्तसम्म नियामक निकायले तोकेबमोजिमको चुक्तापूँजी कायम गर्नुपर्नेछ । जीवन बीमा कम्पनीको लागि रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था नियामक निकाय नेपाल बीमा प्राधिकरणले गरेको हो । समान हैसियतमा एक हुन लागेका यी तीन कम्पनीको मर्जरपछि चुक्तापूँजी रू. ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार पुग्नेछ ।
प्राइम लाइफले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट यस वर्ष १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बोनसपछि प्राइम लाइफको चुक्तापँजी रू. ३ अर्ब १४ करोड ९ लाख ६५ हजार पुगेको छ ।
युनियन लाइफले पनि यस वर्ष ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । उक्त बोनसपछि युनियन लाइफको चुक्तापूँजी रू. २ अर्ब ३४ करोड २८ लाख ५५ हजार पुगेको छ । गुराँस लाइफले भने हालसम्म यस वर्षको लाभांश प्रस्ताव गरेको छैन ।
हाल गुराँस लाइफको चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजार रहेको छ । यी तीन कम्पनी एक भएपछि चुक्तापूँजीको हिसाबमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बन्नेछ ।
मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका हालका अध्यक्ष सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा युनियन लाइफ इन्स्योरेन्सका हालका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकणर् हुने अन्तिम सम्झौता भएको छ ।
गुराँस लाइफका प्रमुखकार्यकारी अधिकृत विपिन कणर् र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल भने वरिष्ठ नायब प्रमुख कार्यकारी रहने सहमति कम्पनीहरूबीच भएको छ ।
पछिल्लो समय मर्जर तथा प्राप्तिका लागि लागू गरिएको व्यवस्थामा मर्जर तथा प्राप्ति सम्झौता गरेको ६ महिनाभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने व्यवस्था छ ।
गत कात्तिकदेखि लागू भएको यो व्यवस्था त्यसअघि नै मर्जर सम्झौता गरेका यी कम्पनीमा लागू नहुने भएपछि एकीकृत कारोबारपछि बढीमा १५ दिन कारोबार रोक्काको व्यवस्था लागू हुनेछ । वैशाख २ गतेदेखि नै यी कम्पनीहरूले लक्ष्यअनुसार एकीकृत कारोबार सम्पन्न गरेमा बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का हुनेछ ।