खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६ दशमलव ६ मेगावाट विद्युत उत्पादन गरिरहेको साप्सुखोला जलविद्युत् आयोजनाले खोलामा पानी नै सुकाएर विद्युत उत्पादन गरेपछि स्थानीयले चैते धान रोप्न समस्या भएको छ ।
राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर जलविद्युत् उत्पादन गरेको प्रवर्द्धक कम्पनीले खोलामा पानी नै सुकाएर जलविद्युत् उत्पादन गरेको पाइएको छ । जलविद्युत् उत्पादन गर्दा कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगिएको थियो ।
साप्सुखोलामा जलविद्युत् प्रवर्द्धक कम्पनीले स्थापनाकालबाटै खोलामा पानी नछाडी जलविद्युत् उत्पादन गरेपछि समस्या भएको जनाइएको छ । जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न खोला नै सुकाएर पानी फर्काएपछि खेतीपाती गर्न समस्या भएको स्थानीय कुमार बुढाथोकीले गुनासो गरेका छन् ।
“साप्सुखोलामा सञ्चालित जलविद्युत् आयोजनाको बाँधभन्दा मुनिका भागमा पानी सुकेर समस्या भएको छ । यतिमात्रै होइन । यसअघि जिल्ला प्रहरी कार्यालयमा बसेर गरेको सम्झौतासमेत आयोजनाले कार्यान्वयन गरेको छैन”, उनले भने, “खोलै सुक्ने गरी पानी फर्काएर जलविद्युत् आयोजना सञ्चालन गरेपछि आफूलाई चाहिएको समयमा खेतबारीमा पानी लगाउन पाएका छैनौँ । यसले गर्दा यस वर्ष चैते धान रोप्नसमेत समस्या भयो ।”
रावाखोला जलविद्युत् आयोजनाले मापदण्डअनुसार खोलामा पानी नछाडेको गुनासो स्थानीयको छ । प्रवर्द्धक कम्पनीले खोलाको पानी नै सुकाएर जलविद्युत् आयोजना सञ्चालन गरेको विषयमा आफूहरूले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको स्थानीयवासीले बताएका छन् ।
खोला सुक्ने गरी जलविद्युत् आयोजनाले पानी फर्काएको विषयमा आफूलाई अहिलेसम्म कुनै पनि निकायबाट जानकारी नआएको भन्दै खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले तर स्थानीयबाट गुनासो आएपछि रावाखोला जलविद्युत् आयोजना सञ्चालकलाई सम्पर्क गरेर मापदण्डअनुसार कम्तीमा १० प्रतिशत पानी छाड्न निर्देशन दिइएको प्रजिअ घिमिरेले जानकारी दिए ।
साप्सुखोला जिल्लाका खोलामध्ये सबैभन्दा बढी असला माछा पाउने खोलामा पर्छ । बाँधदेखि ड्यामसम्मको करिब ४ हजार २०० मिटर क्षेत्रमा पानी सुकेपछि चराचुरुङ्गी तथा जङ्गली जनावरलाई समेत पानीको समस्या भएको स्थानीयले बताएका छन् ।
खोलाको पानी नै सुकाएर साप्सुखोलाबाट जलविद्युत् उत्पादन गर्ने आयोजनाका स्थानीय प्रमुख प्रदीप दाहालले हिउँदमा खोलामा पानीको बहाव घटेकाले पानी कम भएको बताए । “खोला नै सुकाउने गरी ड्याममा पानी लगेका छैनौँ तर सुक्खा यामका कारण खोलामा पानी कम भएको छ”, उनले भने, “खोलामा भएको पानीको मात्राअनुसार कम्तिमा १० प्रतिशत हुने गरी पानी छाडेका छौँ । यसलाई सम्झौता उल्लङ्घन गरेको भन्न मिल्दैन ।”
आयोजनाले ६ दशमलव ६ मेगावाट जलविद्युत् उत्पादन गर्दै आएको छ । आयोजना प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युत्गृह)बाट उत्पादन गरिएको जलविद्युत् २ दशमलव ५ किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
करिब रु १ अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । ४ किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड ७ हजार लिटर पानी खसाएर६छ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको हो ।
१० स्थानीय तह रहेको जिल्लाबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट उत्पादित साप्सुखोला जलविद्युत् आयोजनासँगै तीनवटा जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजनासँगै केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट उत्पादित ३ मेगावाट क्षमताको रावाखोला जलविद्युत् आयोजना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट उत्पादित एक मेगावाट क्षमताको साप्सुखोला जलविद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । रासस