काठमाडौं । शुक्रवार र शनिवारको बाढीपहिरोका कारण सञ्चालनमा रहेका र निर्माणाधीन गरी दुई दर्जनभन्दा बढी जलविद्युत् आयोजना र केही प्रसारण लाइनमा गरी ३ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको छ । संरचनामा पुगेको क्षतिका कारण ११ सय मेगावाट विद्युत् उत्पादन रोकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीपहिरोबाट सञ्चालनमा रहेका ११ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ती आयोजनाको जडित उत्पादन क्षमता ६२५ दशमलव ९६ मेगावाट छ । आपत्कालीन अवस्थाले गर्दा ११ सय मेगावाट विद्युत् उत्पादन रोक्नुपरेको छ ।
त्यसैगरी १०१० दशमलव २९ मेगावाट जडित उत्पादन क्षमताका १५ ओटा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनअनुसार प्रभावित सबै आयोजनामा गरी ३ अर्ब रुपैयाँ बराबर क्षति भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालनमा रहेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, २२ मेगावाटको बागमती साना जलविद्युत् आयोजना, २२ दशमलव १ को तल्लो हेवाखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ए, ८६ मेगावाटको सोलु दूधकोशीलगायत आयोजनामा क्षति पुगेको बताए ।
- जलविद्युत् र प्रसारण लाइनमा ३ अर्बको क्षति
- ११ सय मेगावाट विद्युत् उत्पादन रोकियो
- सञ्चालनमा रहेका ११ र निर्माणाधीन १५ आयोजना प्रभावित
सञ्चालनमा रहेको ३ मेगावाटको माइखोला क्यासकेड, ९ दशमलव ६ मेगावाटको माइखोला, १ मेगावाटको फेमेखोला, ५ मेगावाटको सिउरीखोला, २ मेगावाटको खानीखोला र ४ दशमलव ३६ मेगावाटको टुंगुन ठोस्ने आयोजनामा पनि क्षति भएको उनले बताए ।
घिसिङका अनुसार केही निर्माणाधीन जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएका छन् । निर्माणाधीनमा २५ मेगावाटको इलेप खोला, ५ मेगावाटको हेवाखोला, २१६ मेगावाटको अपर त्रिशूली १, सभाखोला बी र सी, ८६ दशमलव ५९ मेगावाटको लान्द्रुक मोदी, १०० मेगावाटको सुपर त्रिशूलीमा बाढीपहिरोले क्षति पुर्याएको छ । त्यसैगरी निर्माणाधीन २० मेगावाटको लाङटाङखोला, मायाखोला, लाप्चे, भोटेकोशी १, तल्लो सोलु, १४० मेगावाटको तनहुँ जलविद्युत् र १२० मेगावाटको रसुवा भोटेकोशी आयोजनामा पनि क्षति पुगेको छ ।
अहिलेसम्म भएको क्षतिमध्ये अपर तामाकोशीको सबैभन्दा ठूलो भएको घिसिङले बताए । उनका अनुसार ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको बाँध स्थलमा अवस्थित कन्ट्रोल रूम पूर्ण रूपमा क्षतिग्रस्त भएकाले आयोजना ३ दिनदेखि बन्द छ । आयोजनाको बक्स कल्भर्टमा लेदो थुप्रिएको छ । त्यहाँ कार्यरत कर्मचारी र सुरक्षा निकायका मान्छेसहित तीनजना सम्पर्कविहीन भएका छन् । एक जनाको लास भेटिएको छ ।
‘क्षति भएका आयोजना पुनर्निर्माण गर्न समय लाग्ने भएकाले यस वर्षको सुक्खायाममा बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुनेछ । गतवर्षको तुलनामा आयात बढाउनुपर्ने हुन सक्छ,’ घिसिङले भने, ‘अहिले नै पनि हामीलाई विद्युत् व्यवस्थापनमा चुनौती भइसकेको छ । काबेली कोरिडोरको दमक–गोदक १३२ केभी प्रसारण लाइनको ५०, ५१ र ५२ नम्बर टावरमा क्षति पुग्दा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला अन्धकारमा छन् । यद्यपि प्राधिकरणले दमकबाट ब्याक फिडिङ दिएर आइतवार रातिसम्म त्यहाँ विद्युत् आपूर्ति गर्ने प्रयास गरिरहेको छ ।’
खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनको २ नम्बर टावरमा क्षति पुग्न सक्ने भएकाले त्यसमार्फत प्रसारित करीब ८०० मेगावाट विद्युत् बन्द हुने अवस्था छ । त्यसैगरी सोलु कोरिडोर, चमेलिया कोरिडोरलगायतमा सानातिना समस्या धेरै भएको र विशेष गरी पूर्वी नेपालमा विद्युत् व्यवस्थापन चुनौतीपूर्ण रहेको घिसिङको भनाइ छ ।
नेपालले भारत निर्यातका लागि बिड गरिसकेको विद्युत्को जरीवाना तिर्नुपर्ने अवस्था आएको बताउँदै घिसिङले अहिले २५० मेगावाट मात्रै निर्यात भइरहेको जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ऊर्जामन्त्री दीपक खड्काले मौसम पूर्वानुमान महाशाखाले पहिल्यैदेखि सजग गराएअनुसार आयोजनाहरूमा जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्दा अनुमानको तुलनामा कम क्षति भएको बताए । गतवर्ष पूर्वी नेपालका जलविद्युत् आयोजनामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको इप्पानले बताएको छ ।
क्षतिको विवरण संकलन गर्ने काम जारी छ । क्षति भएका जलविद्युत् आयोजनाहरूको तत्काल पुनर्निर्माण गरी उत्पादनमा जान सक्ने अवस्था सृजना गर्न सरकारले सहजीकरण गरिदिनुपर्ने निजीक्षेत्रका ऊर्जा उद्यमीको माग छ ।
इप्पान अध्यक्ष गणेश कार्कीले गतवर्षको बाढीपहिरोका कारण क्षति भएका आयोजनाहरूले सामान आयातका लागि भन्सारमा लाग्ने भ्याटका कारण आयोजना पुनर्निर्माण गर्न नसकेको बताउँदै त्यसतर्फ विचार गरी सहजीकरण गर्न ऊर्जा मन्त्रालयले पहल गरिदिनुपर्ने बताए । साथै बीमाबापतको रकम समयमै निकासा गर्न सरकारले सहजकर्ताको भूमिका खेल्नुपर्ने कार्कीले बताए ।