नेपालमा पटकपटक प्राकृतिक विपत्तिका घटना भइरहे पनि भौतिक पूर्वाधारको बीमा गर्ने प्रवृत्ति अझै बढ्न सकेको छैन । निजी कम्पनी वा व्यक्तिले आफ्ना घरको बीमा गराउने प्रवृत्ति केही बढे पनि सरकारले सार्वजनिक पूर्वाधारको बीमा गराउने गरेको छैन । यस्ता विपत्तिबाट क्षति भएमा तिनको पुनर्निर्माणमा ठूलो धनराशि आवश्यक पर्ने र सरकारलाई स्रोतको जोहो गर्न सकस पर्ने गरेको छ । बीमा त्यस्तो करार हो जसले जोखीमको भार हस्तान्तरण गर्छ । त्यसैले जोखीम कम गराउन सरकारले आफ्ना नागरिकलाई बीमा गर्न प्रेरित गर्छ । नेपालमा बीमाको पहुँच पर्याप्त छैन । एक त बीमा भनेको बोझ हो भन्ने सोच छ भने अर्को क्षति भइहालेमा दाबी भुक्तानी सजिलै पाइन्छ भन्नेमा धेरैलाई विश्वास छैन । त्यसैले नेपालमा बीमा बाध्यकारी व्यवस्थाजस्तो बनेको छ । बैंकबाट कर्जा लिन, सवारीसाधन नवीकरण गर्न बीमा अनिवार्य गरिएको छ । बीमा कम्पनीहरू बीमाको महत्त्व बुझाएर यसको पहुँच विस्तार गर्नभन्दा सरकारसँग यस्तै बाध्यकारी व्यवस्थाको माग गरिहेका छन् । व्यक्ति को होस् कि सरकारको सबै पूर्वाधारको बीमा गर्ने प्रवृत्ति बढेमा प्राकृतिक विपद्ले ल्याउने विनाशको पुनर्निर्माण गर्न सहयोग पुग्छ ।
अहिले जथाभावी घर बनाउने प्रवृत्ति छ जसको बीमा गरिएको हुँदैन । त्यस्ता ठाउँमा घर बनाउन बीमा अनिवार्य गरिनु पर्छ । त्यसो गर्दा बीमा कम्पनीले विज्ञहरू खोजेर कस्ताकस्ता भवनको बीमा नगर्ने हो आफै निर्णय गर्छ । विज्ञहरू झिकाउँछ । बीमा कम्पनीहरूलाई यस्तो अधिकार दिने हो भने कम्पनीहरूको व्यवसाय पनि बढ्छ, कमजोर पूर्वाधार निर्माण पनि हुँदैन । सरकारले क्षतिपूर्ति दिइरहनु पनि पर्दैन वा कम दिए पनि पुग्छ । भूकम्प वा बाढीपहिरोको उच्च जोखिम रहेको मुलुकमा पीडितलाई पुन:स्थापनामा खर्च गर्न पर्याप्त बजेट नहुनसक्छ । बीमा गर्ने परिपाटीले सरकारबाट पुन:स्थापनाका लागि स्रोत प्राप्त नगरे पनि बीमा कम्पनीबाट क्षतिपूर्ति लिन सकिन्छ । राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल जलवायु परिवर्तन प्रभावको जोखिममा चौथो स्थानमा, चट्याङको जोखिममा पाँचौं स्थानमा, भूकम्पीय जोखिममा ११औं स्थानमा, बाढी प्रकोपको जोखिममा ३०औं स्थानमा र समग्रमा विश्वमा जोखिमको २०औं स्थानमा पर्छ । तर, जोखिम हस्तान्तरण मुख्य औजार बीमामा भने नेपालीको पहुँच कमजोर रहेको सरकारी तथ्यांकले देखाउँछ । त्यसमा पनि सार्वजनिक पूर्वाधारको त बीमा गर्ने प्रचलन नै छैन ।
प्राधिकरणका अनुसार २०८१ भदौसम्ममा ४२ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको छ । बीमाको पहुँच कमजोर हुँदा प्राकृतिक विपत्पछि पुन:स्थापना र पुनर्निर्माणका लागि सरकारले अर्बौं रकम खर्च गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको इस्योरेन्स एन्ड रिस्क फाइनान्सिङसम्बन्धी परियोजनाले गरेको अध्ययनमा नेपालले सन् २०१२ देखि २०२० सम्ममा प्राकृतिक प्रकोपपछि पुनर्निर्माणका लागि वार्षिक औसत ५० अर्ब रुपैयाँ खर्च गरेको औंल्याइएको छ । प्राकृतिक विपद्का बेला व्यक्तिगत घर लगायतका पुर्वाधार मात्र होईन वर्षेनि सार्वजनिक पूर्वाधारहरूले पनि क्षति बेहोरिरहेका हुन्छन् । सडक, विमानस्थल, पुल, विद्यालय भवन तथा सरकारी भवनहरू पनि प्राकृतिक विपद्का शिकार भइरहन्छन् तर तिनको भने बीमा गरिएको देखिँदैन । केही दिन अघिको बाढीपहिरोले पनि सडक, पुल, जलविद्युत् आयोजनाहरूमा बढी क्षति पुगेको छ । त्यस्तै २०७२ सालको भूकम्पमा सार्वजनिक भवनमा व्यापक क्षति पुगेको थियो । यदि यस्ता पूर्वाधारको बीमा गरिएको थियो भने पुनर्निमाणका लागि सरकारलाई भार निकै कम पथ्र्यो । त्यो भार बीमा कम्पनीले वहन गर्थे । सरकारको स्रोत सीमित हुने हुनाले ऋण लिएर पूर्वाधारको मर्मत सम्भार गर्नुपर्ने स्थिति छ । त्यसैले यस्ता पूर्वाधारको पनि बीमा गर्ने परिपाटी बसाएमा सरकारलाई पर्ने आर्थिक भार न्यूनीकरण गर्न सकिन्छ । यबाट बीमा कम्पनीहरूका लागि ठूलो बजार मिल्न सक्छ । त्यसैले सरकारले सार्वजनिक पूर्वाधारको बीमा गराउने पहल थाल्नुपर्छ ।