मध्यभोटेकोशी जलविद्युत् आयोजनाले १ अर्बबराबरको शेयर स्थानीयलाई दिने भएको छ । सिन्धुपाल्चोकमा निर्माण हुन लागेको सो आयोजनाको क्षमता १ सय २ मेगावाट रहेको छ । आयोजनाले दिन लागेको सो शेयर अन्य जलविद्युत् आयोजनाले दिएको भन्दा बढी हो । ‘आयोजना आफ्नो हो भन्ने भावना विकास होस् भनेर सो शेयर दिन लागिएको हो,’ आयोजनाको प्रबन्ध सञ्चालक प्रकाशमान श्रेष्ठले अभियानसँग भने ।
सो शेयरमध्ये आयोजनाले स्थानीय तीन कम्पनीलाई १/१ प्रतिशत शेयर दिएको छ । त्यस्तो शेयर पाउनेहरूमा नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड र सिन्धु एन्भेष्टमेण्ट कम्पनी प्रालि रहेका छन् । ती तीनले १८ करोड रुपैयाँको शेयर पाएका छन् । यसैगरी स्थानीय जिल्ला विकास समिति र गाविसले पनि रु १८ करोड बराबरको ३ प्रतिशत शेयर पाउने भएका छन् । ‘शेयर लिनका लागि पत्राचार गरिसकिएको छ,’ श्रेष्ठले भने । सर्वसाधारणलाई दिनका लागि भने १० प्रतिशत शेयर छुट्याइएको छ । घरजग्गा वा शेयरमध्ये एक धितो राखेरसमेत ऋण दिने व्यवस्था गर्न लागिएको आयोजना सञ्चालक समितिका सदस्य तुलसीराम ढकालले बताए । ‘हामी यसमा चिलिमे मोडेललाई अपनाउँछौं,’ उनले भने । हुनेले पूरै रकम र नहुनेले २० प्रतिशत नगद र ८० प्रतिशत बैंक धितो राखेर पनि शेयर किन्न चाहन्छन् भने आयोजनाले सो सुविधा नदिने बताएको छ ।
वर्ष ७, अंक ३३७, आइतवार ३ भदौ, २०६९