काठमाडौं । नेपाल बीमा प्राधिकरणले हवाई बीमा सम्बन्धी सुरक्षा रणनीति बनाउने भएको छ । सोमवार काठमाडौंमा आयोजित एकदिने ‘एभिएशन रिस्क म्यानेजमेन्ट कन्क्लेभ’लाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हवाई क्षेत्रको बीमालाई व्यवस्थित गर्न रणनीतिको आवश्यकता महसुस गरिएको बताए ।
‘बीमा नियामकका हिसाबले प्राधिकरणले स्थिर र प्रभावकारी इन्स्योरेन्स फ्रेमवर्क बनाउन अति आवश्यक रहेको महसुस गरेका छौं,’ अध्यक्ष सिलवालले भने, ‘यसले उड्डयन सुरक्षाको प्रवर्द्धन गर्दै अन्तरराष्ट्रिय मापदण्ड तयार गर्न सहयोग गर्नेछ ।’ अन्तरराष्ट्रियस्तरको गाइडलाइन बनाएर सुरक्षाको प्रत्याभूति गर्न सकिने उनको भनाइ थियो ।
अध्यक्ष सिलवालले हवाई बीमा बहुआयामिक हुने र नेपालजस्तो देशमा भौगोलिक र संरचनागत जोखिम रहेको औंल्याएका छन् । उनले बीमा व्यवसायमा विश्वव्यापी महामारी, ‘साइबर थ्रेट’, वातावरणीय प्रभाव, जलवायु परिवर्तन मुख्य चुनौती रहेको भन्दै जोखिमहरूबारे गम्भीर छलफल आवश्यक रहेको बताए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को आयोजनामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले उड्डयन क्षेत्रको योगदान अर्थतन्त्रमा महत्त्वपूर्ण रहेको भन्दै यसको विकासमा लागि बीमाको महत्त्व रहेको बताए । ‘नेपालको पर्यटन क्षेत्रले जीडीपीमा ६ दशमलव ७ प्रतिशतको योगदान गरेको छ । यसको मुख्य कारण सुरक्षित उडान नै हो, यसमा बीमा कम्पनीहरूको पनि भूमिका छ,’ उनले भने ।
उड््डयन बीमाले दुर्घटनाको न्यूनीकरणमात्रै नभएर बलियो शाख र प्रतिबद्धता अघि बढाउन पनि कम्पनीहरूले लामो समयसम्म साझेदारी गर्नुपर्ने सीईओ क्षेत्रीले बताए । ‘यो सम्मेलन उड्डयन जोखिम व्यवस्थापनका लागि आवश्यक रणनीति बनाउन महत्त्वपूर्ण रहेको छ,’ उनले भने, ‘यसले हाम्रो आकाश सुरक्षित रहेको र हाम्रो उड्डयन परीक्षण बलियो रहेको प्रमाणित गर्दै देशको अर्थतन्त्रलाई थप टेवा दिन मद्दत मिल्छ र यसले अन्तरराष्ट्रियस्तरमा शाख पनि बढाउनेछ ।’ हवाई सुरक्षा सम्बन्धी अवधारणागत छलफल भएको सम्मेलनमा डा. नरेन्द्र नतेजाले कार्यपत्र प्रस्तुत गरेका थिए ।