काठमाडौ । बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरि यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बिच छलफल भएको छ ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतीग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालय विच सहकार्य हुने बारेमा कुराकानी भयो । चाडपर्वको समेत बेला भएकाले जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरि यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने भएको छ ।
वीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीहरु विचमा छलफल भएको हो । छलफलमा मन्त्रालयका सचिव केशकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी लगायतका अधिकारीहरु समेत सहभागी रहनु भएको थियो । सडक विभागले क्षतिग्रस्त सवै स्थानहरुमा प्राविधिक तथा उपकरणहरु परिचालन गरि सवारी आवागमन सहज बनाउने काम गरि रहेको जनाएको छ ।