काठमाडौं । एनसेल फाउन्डेशनले कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ निग्लिहवामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा ४०० भन्दा बढी स्थानीयले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएको बताइएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मुटु रोग तथा स्त्री रोगसम्बन्धी विशेषज्ञसँग परामर्श लगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । सो अवसरमा परामर्श अनुसारको आवश्यक नि:शुल्क औषधिसमेत वितरण गरिएको थियो ।
फाउन्डेशनले यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा पनि नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने योजना रहेको फाउन्डेशनले जानकारी दिएको छ ।
नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने उद्देश्य अनुरूप फाउन्डेशनले स्वास्थ्य शिविर आयोजना गरेको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले बताइन् । एनसेलका परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने उनको अपेक्षा छ । हालसम्म एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको बताएको छ ।