महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादशैंको महाअष्टमीका दिन आज करीब रु तीन करोडको लड्डु विक्री भएको छ ।
होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करीब ६५ हजार किलो लड्डु विक्री भई रु तीन करोड बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताए ।
हंसराज मिठाइ पसलका सञ्चालक सन्तोष गुप्ताले विभिन्न शक्तिपीठमा प्रसादका रूपमा चढाउन बजारमा फरकफरक प्रकारका लड्डुको विक्री भएको बताए । यहाँ रिफाइन घ्यूवाला, शुद्ध घ्यूवाला, मोतीचुर, महीनदाना, गोंद, मेवालगायत लड्डु पाइने गरेको उनले जानकारी दिए । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि विक्री हुने गरेको गुप्ताले बताए ।
जनकपुरधाम मुख्य बजार क्षेत्रमा दुई सयभन्दा बढी मिठाइ पसल छन् । बजारमा बुधवार साँझदेखि नै मिठाइ पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने बिहीवार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो । रासस