गत १० वर्षको अवधिमा नेपालको जनसंख्या वृद्धिदर झण्डै १ प्रतिशतले घटेको छ । नेपालको राष्ट्रिय जनगणना २०६८ को नतीजा सोमवार सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर १० वर्षअघिको भन्दा शून्य दशमलव ९ प्रतिशत बिन्दुले घटेको जानकारी दिएको हो । २०५८ सालमा वार्षिक २ दशमलव २५ प्रतिशत रहेको जनसंख्या वृद्धिदर १० वर्षपछि घटेर वार्षिक १ दशमलव ३५ प्रतिशतमा झरेको छ । यो वृद्धिदरले ५२ वर्षमा नेपालको जनसंख्या दोब्बर हुने विभागका महानिर्देशक उत्तमनारायण मल्लले बताए ।
जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । त्यसमध्ये पुरुष ४८ दशमलव ५० प्रतिशत र महिला ५१ दशमलव ५० प्रतिशत रहेका छन् । जनगणनाअनुसार १९ लाख २१ हजार ४ सय ९४ जना नेपाली विदेशमा रहेका छन् ।
यो संख्या कुल जनसंख्यामा समावेश गरिएको छैन । २०५८ सालमा नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय थियो । हाल प्रतिसय महिलामा ९४ दशमलव १६ पुरुष छन् । १० वर्षअघि यो अनुपात ९९ दशमलव ८० थियो ।
२०६८ सालको जनगणनाले विगत १० वर्षको अवधिमा परिवार संख्या २२ प्रतिशतले बढेर ५४ लाख २७ हजार पुगेको देखाएको छ ।
वर्ष ८, अंक ७०, बुधवार १२ मङ्सिर, २०६९