काठमाडौं । इजरायली राजदूतावासले जर्मनीको राजदूतावाससँगको सहकार्यमा जर्मनीमा भएको यहूदी नरसंहार (होलोकास्ट)का पीडितको सम्झनामा सोमबार काठमाडौँमा (Auschwitz- A Place on Earth) 'औशविट्ज–ए प्लेस अन अर्थ' शीर्षकमा स्मृति कार्यक्रम तथा प्रदर्शनी आयोजना गरेको छ ।
नरसंहार शुरूआत सम्पूर्ण यहूदी जनसंख्यालाई नाश गर्ने दृष्टिकोणबाट भएको मानिन्छ । सन् १९३० देखि ४० को दशकमा युरोपमा हिटलरको पार्टी नाजीको शासन र यसका सहयोगीहरूद्वारा १५ लाख बालबालिकासहित ६० लाख यहूदीहरूको हत्या भएको थियो।होलोकास्टको समयमा मारिएका ६० लाख यहूदीको सम्मानमा स्मारकमा ६ ओटा मैनबत्ती बालिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलले इतिहासबाट सिकेको पाठबारे प्रकाश पार्दै नरसंहार यहूदी वा युरोपको त्रासदी मात्र नभएको बताए । 'यो मानवताको असफलता थियो । घृणालाई सामान्यीकरण गर्दा, पूर्वाग्रहलाई नियन्त्रण नगर्दा र न्यायबाट बञ्चित हुँदा के हुन सक्छ भनेर यसले सम्झाउने काम गर्छ,' उनले भने ।
संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसनले ऐक्यबद्धता व्यक्त गर्दै यहूदी विरोधी, जातिवाद र सबै प्रकारका घृणा र असहिष्णुताका विरुद्ध खडा हुने साझा जिम्मेवारी भएको बताए । उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोका तर्फबाट शुभकामना पनि व्यक्त गरे ।
नेपालका लागि जर्मनीका राजदूत डा. थोमस हेनरिक प्रिन्जका तर्फबाट डेपुटी चिफ अफ मिसन बेन्जामिन सिडेलले आजको दिन मूलतः स्मरणको दिन भएको बताए । 'होलोकास्ट ग्याँस कक्षहरूबाट शुरू भएको थिएन । यो घृणा, विभाजन र अमानवीयकरणका शब्दहरूबाट शुरू भएको थियो । यो गम्भीर तर वास्तविकताले यहूदी विरोधी, जातिवाद, जेनोफोबिया र सबै प्रकारका भेदभावका विरुद्ध दृढतापूर्वक खडा हुने लोकतान्त्रिक नागरिकको रूपमा हाम्रो साझा जिम्मेवारीलाई देखाएको छ,' उनले भने ।
इजरायलका राजदूत शमुलिक अरी बासले यस दिनलाई पीडितको सम्झनामा मनाउनु पर्ने जस्ले युवा पुस्तालाई यस बारे शिक्षित गर्ने बताए । उनले जनवरी २७, २००५ मा, संयुक्त राष्ट्र संघको महासभाले होलोकास्टको सम्झनामा आफ्नो पहिलो विशेष अधिवेशन आयोजना गरेको थियो । पहिलो पटक न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा प्रदर्शनी समेत गरिएको थियो र आशाको गीत "हातिक्वाह" गाइएको सम्झाए । जसले संयुक्त राष्ट्र होलोकास्ट स्मरण विभाग को स्थापना गर्यो र जनवरी २७ लाई अन्तर्राष्ट्रिय प्रलय स्मरण दिवसको रूपमा मनाउने गरिएको थियो ।
कार्यक्रममा हिमाली बोर्डिङ स्कुल र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका विद्यार्थीहरुको सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा मानव निर्मित क्रूरताको बारेमा शिक्षित गर्ने र यस्तो क्रूरता कहिल्यै नदोहोरियोस् भन्ने सन्देश दिने उद्देश्यले "आशविट्ज– अ प्लेस अन अर्थ" नामक प्रदर्शनी पनि आयोजना गरिएको थियो।
प्रदर्शनी जनवरी २८ देखि फेब्रुअरी २ सम्म हिमाली बोर्डिङ स्कूलमा सर्वसाधारणका लागि खुला रहनेछ । काठमाडौं प्रज्ञा कुञ्ज स्कुल, फेब्रुअरी ३ देखि ९ सम्म प्रदर्शनी रहने छ । त्यसपछप अन्य स्थानहरूमा पनि खुला हुनेछ।