चितवन। देश तथा विदेशमा रोजगारी सृजना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिका–७ मा ‘चितवन कलेज अफ कुकरी’ सञ्चालनमा आएको छ । कलेजको नेपालका लागि अष्ट्रेलियन राजदूत लिन जोन्स्टनले उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै जोन्स्टनले नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएकाले यस क्षेत्रलाई थप व्यावसायिक बनाउन यस्ता कलेजले सहयोग गर्ने बताइन् ।
सो अवसरमा बोल्दै कलेजका प्रबन्ध निर्देशक सचिनप्रताप केसीले चितवनमा पर्यटनको सम्भावना भएकाले र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित कलेज सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार कलेजमा ६ महीनाको कोर्षमा एकमहीने सैद्धान्तिक कोर्ष र बाँकी पाँच महीना व्यावहारिक ज्ञान दिलाइने बताइएको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई शीप सिकेर जाँदा सजिलै काम पाउने र रोजगारीका लागि तेस्रो मुलुक जान पनि यो शिक्षा उपलब्धिमूलक हुने उनको भनाइ थियो । कलेजमा बेकरी, बारिस्ता, इन्डियन कन्टिनेन्टल, चाइनिज, स्थानीय परिकार बनाउने प्रक्रिया सिकाइने गरेको केसीले बताए ।
अष्ट्रेलियाको कुलीनरी सोलुसन्स अष्ट्रेलिया इन्टरनेशनल संस्थासँग सम्बन्धन प्राप्त गरेको कलेजले इन्टर्नशिपको लागि विद्यार्थीलाई इण्डियाको ताज होटल र इन्टर्नशिपपश्चात् जापान, युके, मध्यपूर्वका देशमा रोजगारीका लागि जान सक्ने उनले जानकारी दिए ।