निलो र रातो रङका एलपी ग्यास सिलिण्डर प्रयोगमा ल्याउने विषयमा उद्योगीहरू विभाजित भएका छन् । नयाँ उद्योगले निलो रङका सिलिण्डर बजारमा ल्याएपछि उद्योगीहरूबीच फाटो आएको हो । यसअघि दुई रङका सिलिण्डर प्रयोगमा ल्याउन सरकारले तीनपटकसम्म मिति तोके पनि व्यवसायीकै असहयोगले सफल हुन सकेको थिएन ।
्अहिले ६ ओटा उद्योगले दुई रङको सिलिण्डर बजारमा ल्याएको नेपाल एलपी ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वरअर्यालले अभियानलाई बताए । ‘धेरै उद्योगले सिलिण्डरको ठूलो हिस्सामा निलो रङ पोतिसकेका छन्,’ उनले भने, ‘उनीहरूले उद्योग संघको दबाबकै कारण बजारमा नल्याएका मात्र हुन् ।’
अहिले साल्ट ट्रेडिङ कर्पोरेशन, नोबेल, मनकामना, भेरी तथा एनएलजस्ता उद्योगले निलो रङका ग्यास सिलिण्डर बजारमा ल्याएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले भने दुई रङको सिलिण्डरले थप अनियमितता बढ्ने भन्दै उपभोक्ता परिचयपत्रका आधारमा नगद सहुलियत कार्यक्रम ल्याउन आग्रह गर्दै आएको छ । तर, नेपाल आयल निगमले पूर्वयोजनाअनुसार दुई रङको सिलिण्डर प्रयोगमा ल्याइछाड्ने जनाएको छ ।
वर्ष ८, अंक ८८, शुक्रवार २९ मङ्सिर, २०६९