काठमाडौं। जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास ७ ईभी कार ल्याउने तयारी गरेको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको ईभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरी दुई भेरीयन्टमा उपलब्ध रहेको बताइएको छ ।
यसमा लिथियम आइरन फोस्फेट एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको र जसलाई गीली अटोमोबाइलद्वारा आविष्कार गरिएको बताइएको छ । प्रोटन इमास ७ को प्राइममा ४९ दशमलव ५२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने प्रोटन इमास ७ प्रिमियममा ६० दशमलव २२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको बताइएको छ ।
यसको अर्को विशेषता ‘१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ रहेको र यसले विद्युतीय सवारीसाधनको एकीकृत पावरट्रेनलाई जनाउने बताइएको छ । यसले मोटर, पावर इलेक्ट्रोनिक्स, नियन्त्रण एकाइसहित कुलिङ सिस्टम जस्ता विभिन्न उप–प्रणालीको लागि धेरै कम्पोनेन्ट प्रयोग गर्नुको सट्टा तिनीहरूलाई एउटै कम्पोनेन्टमा ल्याइने बताइएको छ ।
नेपालका लागि शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको बुझिएको छ ।