काठमाडौं । भारतीयहरू नेपाल छिर्दा २५ हजार रुपैया मात्र लिएर आउने पाईने अफवाहका कारण भारतीय पर्यटक मात्र हैन पर्यटन व्यवसायीहरूलाई पनि नराम्ररी छोएको छ ।
भैरहवा तथा यस आसपासमा राजनैतिक दलका नेताहरू मात्र हैन मन्त्रीहरू आउदा पनि २५ हजार भारतीय रुपैयाको प्रतिवन्ध हटाउन पर्यटन व्यवसायीहरूले आवाज उठाउदै आएका छन् । हुदा हुदा यो मुद्दाले संसद पनि तताएको थियो । सांसदहरूले २५ हजार रुपैयाको कानून संशोधनको माग गर्न संसदबाटै माग गरेका थिए ।
नेपाललाई पर्यटकमैत्री देश बनाउने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको पर्यटन व्यवसायीहरूले बताउदै आएका थिए । नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त सीमा उपयुक्त पनि हैन ।
अहिले पनि विभिन्न स्थानमा २५ हजार भारतीय रुपैयाको सीमा हटाउनु पर्ने माग हुदै आएको छ । तर नेपाल राष्ट्र बैंकले भने नेपालमा यस्तो बाध्यात्मक कानून कतै नरहेको स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सूचना अधिकारी जिवन प्रकाश पाण्डेले नेपालमा २५ हजार रुपैया भारतीय भन्दा बढी रकम ल्याउन नपाईने कतै उल्लेख नभएको बताए ।
पाण्डेले मिति २०७५/४/१ गते देखि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २९(क) को उद्घोषण गर्नुपर्ने सम्बन्धी व्यवस्थाका सन्दर्भमा कसैले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाक वा अन्य माध्यम मार्फत नेपाली रुपैया ५ हजार सम्म वा अमेरिकी डलर ५ हजार सम्म वा सो बराबरको अन्य विदेशी मुद्रा वा सो बराबरको धारक विनिमय अधिकार पत्र नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने गरी सीमा तोकिएको जानकारी दिए ।
भारतीयहरू नेपाल भ्रमणका लागि मात्र नभई सीमावर्ती नेपाली बजारमा ठूलो परिणाममा क्यासिनो खेल्न आउने गरेका छन् । भारतीयहरूलाई नै लक्षित गरि भैरहवामा पनि आधा दर्जन बढी क्यासिनोहरू सञ्चालनमा रहेका छन् । क्यासिनो खेल्न आउने भारतीयहरूलाई प्रहरीले यहि २५ हजारको त्रास देखाउने गरेको पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरूको भनाइ थियो । राष्ट्र बैंकको यो स्पष्टोक्तीले उनिहरूलाई पनि अब राहत मिलेको छ ।
भारत सरकारले नोटबन्दी गर्दा नेपाल सरकार र भारत सरकारको संयुक्त पहलमा भारतमा काम गर्ने नेपालीले २५ हजार रुपैया सम्म सटही गर्न सक्ने व्यवस्था गरेको थियो । तत्कालीन समयमा भारतमा काम गर्ने नेपाली कामदारहरूको सहजताको लागि भारतीय ५ सय र एक हजारका नोटहरू पनि सटही गरिएको थियो । पछि नेपाल राष्ट्र बैंकमा जम्मा भएका र भारत सरकारले बन्द गरेका पाँच सय र एक हजार दरका भारतीय नोट नेपाल राष्ट्र बैंकले सटही गर्न पठाउदा भारतले सो नोटहरू साटेको थिएन । र यो व्यवस्थालाई सरकारले खारेज गरेको थियो ।
नोटबन्दीकै बेला तोकिएको २५ हजार भारुको अल्पकालीन व्यवस्था अहिले सम्म लागु भईरहेको थियो । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्कीले पर्यटकहरूलाई यस्ता साना तिना कुराहरूमा दुख नदिनु भनेर निर्देशन गरिएको बताए ।
५ हजार डलर बराबरको भारतीय मुद्रा ल्याउने पाईए पनि नेपालमा भने १ सय रुपैया भन्दा बढीको मुद्रा प्रतिवन्धित रहेको छ । भारतमा अहिले २ सय, ५ सय र २ हजारका नोट चलन चल्तीमा रहेको छ । नेपालमा भने एक सय रुपैया दरका मात्र नोटहरू बोक्न पाईने कानूनी प्रावधान रहेको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने यो व्यवस्थाले पनि भारतीय पर्यटकलाई सास्ती पाएको बताउँछन् । उनले अहिले भारतीय मुद्रा २५ हजारको सीमा नरहेको जानकारी भए पनि सानो दरका मुद्रा ल्याउदा त्यसले असहजता ल्याउने र बोक्न पनि गाह्रो हुने गरेको बताए ।
अहिले भ्रमण र क्यासिनो खेल्न मात्र नभई डेस्टिनेशन वेडिङ्गको लागि पनि नेपाली भारतीयहरूको प्रमुख रोजाईको केन्द्र बनेको छ । यस्तो अवश्थामा उनिहरूलाई प्रर्याप्त सुविधा दिई खर्च गर्न दिन सक्ने बाटो खोलिदिए यसले नेपालको पर्यटनको विकाससंगै अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरू बताउछन् । रासस