काठमाडौं । सरकारले लामो समयदेखि प्राथमिकतामा राखेको र निर्माण कार्यका लागि शिलान्यास समेत भइसकेको पाथीभरा केबलकार परियोजनाको हाल स्थानीय तहका विभिन्न समूहहरूबाट विरोध भइरहेको छ । आइएमई समूहअन्तर्गतको कम्पनी पाथीभरा देवी मुकुम्लुङ केबलकार दर्शन प्रालिले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी केबलकार निर्माण हुन लागेको हो । तर, विरोधका कारण २०८१ माघ ८ मा शिलान्यास गरिएको केबलकार परियोजनाको भविष्य अन्योलमा परेको छ ।
विरोधमा उत्रिएका स्थानीय संघसंस्थाले जमिनको क्षतिपूर्ति र अन्य सुविधा मागेका छैनन् । मात्र परियोजनाको विरोध गरेका छन् । धेरैजसोले धार्मिक–सांस्कृतिक कारण देखाउँदै परियोजनाको विरोध गरेको पाइन्छ । केबलकार निर्माण गर्दा किरातहरूको धार्मिक ग्रन्थ मुन्धुमको दर्शन, मूल्य, मान्यताविपरीत हुने भन्दै स्थानीय संघसंस्था चर्को विरोधमा उत्रिएका छन् । उनीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बूले यो क्षेत्रमा केबलकार बनाउन नहुने मुख्य कारण यहाँका आदिमकालदेखि बसोवास गर्दै आएका लिम्बू/याक्थुम्बाहरूको आस्था र विश्वासका ठेस पुग्ने भएको दाबी गरे । ‘लिम्बू/याक्थुम्बा समुदायको ग्रन्थ तथा दर्शनशास्त्र मुन्धुमले व्याख्या गरेको स्थान पाथीभरा हो,’ लिम्बूले भने, ‘कुनै एउटा कम्पनी आएर मुन्धुमसँग जोडिएका सबै कुराहरू, संरचनाहरू विनाश गर्नुका साथै मुन्धुमको अस्तित्वमाथि नै प्रश्न खडा हुन्छ भने समुदायको अस्तित्व संकटमा पर्छ ।’
पछिल्लो समय सबै समुदायको आस्थाको धरोहर बनेको छ, पाथीभरा । ‘हामी अंकगणित, मागहरू राखेर आन्दोलनमा आएका छैनौं,’ लिम्बूले भने, ‘यो अस्तित्वसँग जोडिएको हुँदा यसमा मिलनबिन्दु नै छैन, कुनै पनि हालतमा केबलकार खारेज गर्नुपर्छ । अहिले आएर हामीले बार्गेनिङ गरेका हैनौं भने शुरूदेखि नै यहाँ केबलकार नबनाउन आग्रह गर्दै आएका थियौं । २०७७ सालमै यहाँ केबलकार बनाउन हुँदैन भनेर सर्वाेच्च अदालतमा निवेदन हालेका थियौं, त्यो विचाराधीन अवस्थामा छ ।’ यसैगरी केबलकार बनाउँदा ५०० देखि ६०० सम्म तिर्थयात्री सहयोगी (मजदुर) प्रत्यक्ष मर्कामा पर्ने उनले जानकारी दिए । उनीहरू यसबाट विस्थापित हुँदा परिवार नै समस्यामा आउने भन्दै लिम्बूले थपे, ‘यही क्षेत्रमा ४५ ओटाजति होटेल छन्, यसले गर्दा थप विस्थापित बनाउँछ भने सिजनमा ४०० यातायात यो क्षेत्रमा चल्ने हुँदा यी कार्यबाट रोजगारी पाएका सयौं मानिस विस्थापित हुन्छन् ।’
पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले २०८१ कात्तिक २३ गतेदेखि पाथीभरा माताको मन्दिरसम्म पुग्ने केबलकार निर्माणसम्बन्धी काम शुरू गरेपछि केबलकार निर्माण कम्पनी पक्षधर र विरोधीबीच झडप नै भयो । फुङलिङ नगरपालिका वडा नम्बर ११, बल्लुडाँडामा २०८१ वैशाख ३१ गते रूख कटान भएको दिनदेखि नै अस्थायी डेरा जमाई बसेका केबलकार निर्माणविरोधी समूह र सुरक्षाकर्मीबीच सामान्य विवाद भएको थियो । अहिले झडप र आन्दोलनका कार्यक्रम भए पनि त्यहाँका स्थानीयले विगत वर्षदेखि नै यसको विरोध गर्दै आएका छन् । माघ १२ गते प्रहरी र स्थानीयबीच झडपसमेत हुँदा प्रहरी र स्थानीय घाइते भए ।
पाथीभरा क्षेत्र विकास समितिका एक अधिकारीले भने यहाँ केबलकार बनाउँदा खासै फरक नपर्ने पर्ने बताए । यहाँको आस्था र संस्कृति संरक्षण पहिलो शर्त मानेर परियोजना अघि बढाउन सकिने उनको तर्क छ । यो लिम्बू समुदायको पहिचानको विषय भएको भन्दै उनले केबलकार निर्माण हुँदा लाभ नै हुने बताए ।
नेकपा (एमाले) का नेता तथा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेश भट्टराईले पनि केबलकार बन्नुपर्ने धारणा राखे । ‘निर्माण कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकार सञ्चालनले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कर्मजोर पार्ने देखिँदैन,’ उनले बुधवार आयोजित एक पत्रकार सम्मेलनमा भने, ‘पवित्र कान्छी धामभन्दा केबलकार करीब २०० मिटर दूरीमा रहेको छ । पाथीभराको मूल मन्दिरभन्दा करीब ८०० मिटरबाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन । रुख २ हजार ११२ ओटा कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा सत्यता छैन ।’ उनले पाथीभरा केबलकार निर्माण कार्यलाई निर्वाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र सम्बद्र्धनका लागि मुकुम्लुङ पार्क तथा संग्रहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलाप अघि बढाउनुपर्ने माग गरे ।
विरोधका बीच शिलान्यास गरे पनि भौतिक निर्माणको काम हुन नसकेको केबलकार कम्पनीका सञ्चालक रूद्र पौडेलले जानकारी दिए । शिलान्यासपछि १५ महीनामा केबलकार चल्न सक्ने घोषणा कम्पनीले गरेको छ । तर, त्यहाँ केबलकार बन्ने/नबन्ने विषयमा अहिले अन्योल देखिएको छ ।
केबलकार बनाउने योजनाको शुरूआत
विभिन्न व्यावसायिक घरानाको योजना र तयारीबीच अहिले आइएमई समूहले त्यहाँ केबलकार बनाउने योजना अघि सारेको छ । विभिन्न व्यावसायिक समूहरू यस परियोजनामा जोडिएका थिए ।
शुरूमा लक्ष्मी समूहले स्थलगत सर्वेक्षण र अनुसन्धान सकेर १० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरेको थियो । यती समूहको पाथीभरा मातादेवी दर्शन केबलकार प्रालि र त्रिवेणी समूहको त्रिवेणी केबलकार प्रालि दुवैले पाथीभरामा केबलकार निर्माण गर्ने घोषणा गरेका थिए । सन् २०१९ अप्रिल (२०७५ चैत)मा यती समूहले नयाँ वर्षदेखि निर्माण शुरू गर्ने घोषणा गरेको थियो । यसैबीच, त्रिवेणी केबलकारले अचानक आफ्नो आवेदन फिर्ता लियो ।
२०७५ पुस १६ गते मन्त्रिपरिषद्ले पाथीभरामा केबलकार बनाउन दिने निर्णय गरेपछि त्यहाँ केबलकार बनाउने काम यती होल्डिङ्सले लिएको थियो । २०७५ फागुनमा ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन जाँदा मन्दिर नजिककै जंगलमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री रबिन्द्र अधिकारी र यती समूहका अध्यक्ष तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भयो । त्यसको ३ वर्षपछि पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार बनाउने जिम्मा आइएमई समूहको हातमा आएको हो ।