काठमाडौं । वित्तीय अवस्था दयनीय भए पनि मंगलवार दुई वित्तीय संस्थाको शेयर मूल्य उच्च दरमा बढ्यो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार सबैभन्दा धेरै प्रतिशत निष्क्रिय कर्जा रहेको जानकी फाइनान्स र वित्तीय अवस्था बिग्रिएकै कारण गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम त्रैमासमा नेपाल राष्ट्र बैंकबाट शीघ्र सुधारात्मक कारबाही भोगेको सिन्धु विकास बैंकको शेयर मूल्यमा मंगलवार उछाल आएको हो ।
यस दिन जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशत (प्रतिकित्ता ४६ रुपैयाँ ६० पैसा) ले बढेर ५१२ रुपैयाँ ८० पैसा कायम भयो । सिन्धु विकास बैंकको शेयर मूल्य ९ दशमलव ४७ प्रतिशत (प्रतिकित्ता १०७ रुपैयाँ ९० पैसा)ले बढेर अन्तिम मूल्य १ हजार २४६ रुपैयाँ ८० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलवार जानकी फाइनान्सको ५ करोड ९४ लाख १९ हजार रुपैयाँ बराबरको १ लाख १९ हजार १६९ कित्ता र सिन्धु विकास बैंकको १ लाख ४१ हजार २३१ कित्ता शेयर १५ करोड ९७ लाख ८७ हजार रुपैयाँमा कारोबार भयो ।
धितोपत्रको दोस्रो बजार नेप्सेमा १७७ कम्पनीको धितोपत्र मूल्य बढ्दा यी दुई कम्पनीको पनि शेयर मूल्य उच्च दरमा बढेको हो । ६० कम्पनीको धितोपत्र मूल्य भने यस दिन घटेको नेप्सेको तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जानकी फाइनान्स २४ करोड ८२ लाख रुपैयाँ खुद नोक्सानमा छ । निष्क्रिय कर्जा ४० दशमलव ८८ प्रतिशत छ, जुन वित्त कम्पनीहरूमा सबैभन्दा धेरै हो ।
कम्पनी वार्षिक ७१ रुपैयाँ ९१ पैसा प्रतिशेयर नोक्सानीमा छ । जानकी फाइनान्सको प्रतिशेयर नेटवर्थ २१ रुपैयाँ ९४ पैसा मात्र छ । पछिल्लो समय ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई सर्वसाधारणमा शेयर जारी गर्न रोक लगाइएको अवस्थामा २१ रुपैयाँ ९४ पैसा प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको शेयर कारोबार भने उच्च मूल्यमा भइरहेको छ । नियामक नेपाल राष्ट्र बैंक स्रोतका अनुसार यो कम्पनी अहिले विशेष निगरानीमा छ । कम्पनीको शेयर कारोबार राष्ट्र बैंकले नियमन गर्ने विषय नभएकाले खासै जानकारी नभएको स्रोतले बतायो ।
त्यस्तै, सिन्धु विकास बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । गतवर्षको दोस्रो त्रैमाससम्म १ प्रतिशतभन्दा धेरै रहेको सिन्धुको निष्क्रिय कर्जा यस वर्षको सोही अवधिसम्ममा ९ प्रतिशतभन्दा माथि पुगेको छ । सिन्धुले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार यसको वितरणयोग्य नाफा ३१ करोड ८९ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक छ ।
यो कम्पनी चालू वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ८७ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ । सिन्धुको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ६१ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४७ पैसा छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले लगानीकर्तालाई लगानी गर्नुपूर्व कम्पनीको वित्तीय अवस्थालाई ध्यान दिन बोर्डले बारम्बार सूचित गर्दा समेत लगानीकर्ता जोखिम मोल्न तयार भएकोले वित्तीय अवस्था बिग्रिएका संस्थाको भाउ बढ्ने गरेको बताए ।
‘लगानीकर्ताले अध्ययननै नगरी लगानी गर्छन् भने हामीले भिरबाट लड्ने गोरुलाई रामराम भन्नेबाहेक काँध थाप्ने अवस्था छैन,’ उनले भने, ‘कर्णाली डेभलपमेन्ट बैंकको समस्या देखिसकेका लगानीकर्ता फेरि पनि दयनीय अवस्थाका कम्पनीको धितोपत्रमा लगानी गर्छन् भने नियामक निकायले के गर्न सक्छ र ?’ कर्णाली डेभलपमेन्ट बैंक अहिले राष्ट्र बैंकको नियन्त्रणमा छ ।
वरिष्ठ अधिवक्ता एवं लगानीकर्ता कञ्चनकृष्ण न्यौपाने वित्तीय रूपमा कमजोर कम्पनीको शेयर उच्च मूल्यमा कारोबार हुँदा त्यसले दीर्घकालमा लगानीकर्तालाई फाइदा नहुने बताउँछन् । नियामक निकायले सीमित व्यक्ति र समूहले मूल्यमा गर्ने ‘कर्नरिङ’को छानबिन नगर्दा सीधासाधा लगानीकर्ता फस्ने डर हुने उनले बताए । ‘बजारमा अस्वाभाविक कारोबार भइरहेको प्रत्यक्ष देखिँदा पनि नियामक निकायले छानबिन नगर्नु नियामकको बेवास्ता नै हो,’ उनले भने ।