काठमाडौं। नमस्ते इन्फोटेक प्रालि बिहीवार १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा स्थापना भएदेखि नै कम्पनीले क्लाउड सोलुसन्स, नेटवर्क सेक्युरिटी, इन्ड–टु–इन्ड आइटी सोलुसन्स र म्यानेज्ड आइटी सेवाहरू विभिन्न सरकारी निकाय, गैरनाफामूलक संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक तथा निजी संस्थालाई प्रदान गर्दै आएको छ ।
नमस्ते इन्फोटेकका प्रबन्ध निर्देशक रोशन पाण्डेका अनुसार हाल कम्पनीले २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । कम्पनीले नेपालमा कम महत्त्व दिइएको क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
‘हामी डेटाको सुरक्षा र निर्बाध सञ्चालन सहितको समाधान दिन्छौं,’ उनले भने । अहिले सूचना प्रविधिबारे चेतना बढे पनि उद्योगले पाउनुपर्ने जति प्राथमिकता नपाउँदा कम्पनीका १५ वर्षे यात्रामा निकै चुनौती झेल्नुपरेको उनले बताए ।
शुरूमा सूचना प्रविधि पूर्वाधारसँग सम्बन्धित सेवाहरूमा मात्र ध्यान केन्द्रित गरेको कम्पनीले आफ्नो कामको दायरा विस्तार तथा विविधीकरण गरेको छ । ‘आइटी सेवा प्रदान गर्नुका अतिरिक्त हामीले विभिन्न आईटी उत्पादन पनि विक्री गर्न थाल्यौं । यसले गर्दा हामीलाई पूर्ण आइटी सोलुसन दिन सजिलो पनि भयो,’ पाण्डेले भने ।
आगामी दिनमा नमस्ते इन्फोटेकले विशेषगरी बैंकिङ, वित्तीय क्षेत्रमा आफ्ना ग्राहकको संख्या बढाउने योजना बनाएको छ । कम्पनीले निकट भविष्यमा आईटी कनेक्टिभिटी उत्पादनहरू, जस्तै– नेटवर्क उपकरण र भिडियो कन्फरेन्सिङ उपकरण आयात गरी देशभित्र वितरण गर्ने लक्ष्य राखेको छ ।
पाण्डेका अनुसार सरकारी निकायहरू पनि आईटी सेवा तथा उत्पादनको ठूलो वजार हुन सक्छ । अहिले संघ, प्रदेश र स्थानीय सरकारहरू रहेकाले तिनै तहका सरकार र त्यस अन्तर्गतका निकायलाई आईटी पूर्वाधार बनाउनुपर्ने हुँदा बजारको ठूलो सम्भावना रहेको कम्पनीको ठम्याइ छ ।
‘धेरै स्थानीय तहले सिसीटिभी जडान गरे पनि डेटा सेन्टरको निर्माण र व्यवस्थापनमा बेवास्ता गरेका छन्,’ कम्पनीका अध्यक्ष एकराज सेढाईंले भने, ‘विभिन्न आयोजना तथा परियोजना निर्माणको क्रममा सूचना प्रविधि सम्बन्धी पूर्वाधार अन्तिम प्राथमिकता पर्ने गरेको छ ।’
कोभिड–१९ पछि आइटी सफ्टवेयरमा लगानी बढे पनि हार्डवेयर र पूर्वाधारमा भने लगानी घटेको पाण्डेले बताए । त्यसैगरी साना तथा मझौला उद्योगहरूमा डेटा संकलन, त्यसको ब्याकअप, सुरक्षा र व्यवस्थापनका लागि व्यवस्थित पूर्वाधारको अभाव रहेको उनको भनाइ छ ।