काठमाडौं । माघ २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन ७ गते वार्षिक साधारण सभा आव्हान गरको छ । माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भरपुर महानगरपालिकामा रहेको उद्योग परिसरको सभा हलमा अपरान्ह ३ बजे सभा गर्न लागेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने , कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालकहरूको पारिश्रमिक , बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । वार्षिक साधारण सभाले गरेको संशोधनमा नियमनकारी निकायबाट कुनै थपघट गर्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
यस कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशत दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न माघ ३ गते अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएमा कम्पनीले दोस्रो चरणमा ९० हजार कित्ता सामुहिक लगानीकोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी १४ लाख ७६ हजार कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउनेछ । यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधानको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । एलोपेथिक तथा आयुर्वेदिक औषधिहरू उत्पादन तथा आयात गरी विक्री वितरण एवम् प्रबद्र्धन गर्ने कार्य २०८० सालको चैत महीनादेखि गर्दै आएको जानकारी कम्पनीले दिएको छ ।