काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १५६ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी गत वर्षभन्दा बढी भएकाले खुद नाफामा वृद्धि देखिएको हो । गत वर्ष १० करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको कुल सञ्चालन आम्दानी यस वर्ष १३ करोड ४२ लाख रुपैयाँभन्दा बढी रहेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ४९ लाख ७८ हजार रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ १ करोड ७७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने १० करोड १ लाख रुपैयाँभन्दा बढी छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १३ करोड ७६ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । यस अवधिसम्म २ अर्ब २९ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ५ दशमलव ७४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष घटेर ४ दशमलव ८३ प्रतिशत कायम भएको छ । ५ रुपैयाँ १७ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १ हजार ५९८ रुपैयाँ २१ पैसा छ ।