काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार तीन दिन मात्र सञ्चालन भएको छ । सोमवादेखि बिहीवारसम्म पाँच कारोबार दिन खुला हुने बजार बुधवार र बिहीवार सार्वजनिक बिदाका कारण बन्द हुँदा तीन दिन मात्र कारोबार भएको हो । तीन दिनको कारोबारमा बजार दुई दिन निरन्तर घटेको थियो भने एक दिन बढेको थियो ।
पहिलो कारोबार दिन १० दशमलव ४१ अंकले र दोस्रो दिन १० दशमलव ४१ अंकले बजार घटेको थियो । तेस्रो दिन भने २४ दशमलव ५० अंकले बजार बढेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन पनि बजार ११ दशमलव १० अंकले घटेको थियो ।
निरन्तर तीन दिन घटेको बजार चौथो दिन भने बढेकाले बजार केही सुधारिने आशामा लगानीकर्ता देखिन्छन् । पछिल्लो समय थोरै समयमै बजारको वृद्धिले ब्रेक लगाउने गरेको देखिन्छ ।
लगानीकर्ता ढुक्क भएर कारोबार नगरेको अवस्थामा अल्पकालीन नाफा बुक हुने परिपाटी बढेको ब्रोकरहरू बताउँछन् ।
यो साता कुल कारोबार रकम ८ अर्ब ६२ करोड ३३ लाख रुपैयाँले घट्दा कुल कारोबार कित्ता १ करोड ८४ लाख २९ हजारभन्दा बढीले घटेको छ । यो साता तीन दिनको कारोबारमा २७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको ५ करोड २६ लाख ५४ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साता पाँच कारोबार दिनमा ३६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको ७ करोड १० लाख ८३ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको थियो ।
कुल कारोबार रकम र कित्ता घटेपनि औसतमा भने कारोबार रकम र कित्ता दुबै बढेको छ । दुई दिन कम कारोबार भएको यो साता औसतमा कारोबार रकम १ अर्ब ९३ करोड ६० लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ भने कारोबार कित्ता ३३ लाख ३४ हजारभन्दा बढीले वृद्धि भएको छ ।
तीन दिनको कारोबारमा कुल बजार पूँजीकरण ६ अर्ब ३८ करोड रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २ अर्ब ७६ करोड ६६ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण पछिल्लो कारोबार दिन ४४ खर्ब ९ अर्ब १४ करोड ७६ लाख रुपैयाँ कायम भएको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
कारोबार रकम (रू. हजारमा) | 27,455,417.44 | 36,078,736.08 | -8,623,318.64 | -23.9 |
कारोबार कित्ता | 52,654,138.00 | 71,083,474.00 | -18,429,336.00 | -25.93 |
औसत कारोबार रकम (रू. हजारमा) | 9,151,805.81 | 7,215,747.22 | 1,936,058.60 | 26.83 |
औसत कारोबार कित्ता | 17,551,379.33 | 14,216,694.80 | 3,334,684.53 | 23.46 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,409,147.67 | 4,402,766.69 | 6,380.98 | 0.14 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
व्यापारिक समूहले सर्वाधिक गुमाए
यो साता तीन दिनको कारोबारमा व्यापारिक समूहले सर्वाधिक गुमाएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कलाई हेर्दा गत साताको अन्तिम कारोबार दिनको तुलनामा पछिल्लो तीन कारोबारपछिको परिसूचकलाई हेर्दा व्यापारिक समूहको परिसूचक २ दशमलव ३४ प्रतिशत घटेको छ ।
त्यस्तै जीवन बीमाको १ दशमलव ६४ प्रतिशत, बैंकिङको १ दशमलव २२ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य ७ प्रतिशत, लगानीको शून्य दशमलव २६ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव २० प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ ।
पछिल्लो तीन कारोबार दिनको अवस्थालाई हेर्दा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक ५ दशमलव ४६ प्रतिशत, जलविद्युतको १ दशमलव २८ प्रतिशत, वित्तको शून्य दशमलव ३९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २३ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत बढेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
विकास बैंक | 5,864.52 | 5,560.96 | 5.46 |
जलविद्युत् | 3,795.56 | 3,706.62 | 2.4 |
लघुवित्त | 4,965.81 | 4,903.00 | 1.28 |
वित्त | 2,574.76 | 2,564.75 | 0.39 |
उत्पादन तथा प्रशोधन | 7,096.55 | 7,080.55 | 0.23 |
अन्य | 2,085.12 | 2,083.29 | 0.09 |
म्युचुअल फण्ड | 20.08 | 20.09 | -0.05 |
होटल तथा पर्यटन | 6,815.79 | 6,829.26 | -0.2 |
लगानी | 104.06 | 104.33 | -0.26 |
निर्जीवन बीमा | 12,652.41 | 12,788.96 | -1.07 |
बैंकिङ्ग | 1,334.22 | 1,350.74 | -1.22 |
जीवन बीमा | 12,859.78 | 13,074.30 | -1.64 |
व्यापारिक | 4,356.70 | 4,460.99 | -2.34 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)