काठमाडौं । सरकारले कडा प्रावधान राख्दै सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको ठहर गर्दै सरकारले कडा प्रावधानका साथ नियमनसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएको हो ।
सरकारले अनुमति नलिई सामाजिक सञ्जाल चलाए, राष्ट्रहित प्रतिकूल हुने कार्य गर्ने वा गराउने, साइबर बुलिङ गर्ने, साइबर स्टकिङ गर्ने, कसैको आईडी तथा सूचना ह्याक गर्ने, डिपफेक भिडियो अपलोड वा प्रसार गर्ने, बेनामी वा छद्मभेषी पहिचान बनाउन वा प्रयोग गर्नेलाई कडा कारबाही गर्नेगरि विधेयक ल्याएको छ ।
फिसिङ वा इम्पोस्टर स्क्याम गर्ने ,सेक्सटोर्सन वा एक्सटोर्सन कसुर गर्ने,विभत्स तस्वीर वा अडियो वा भिडियो पोस्ट वा सेयर गर्ने, अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न नपाइने व्यवस्था विधेयकमा राखिएको छ । छद्मभेषी, स्थायी वा अस्थायी समूह (ग्रुप)लाई समेत कारबाही गर्ने गरि विधेयक ल्याइएको छ ।
गलत मनसायले सामाजिक सञ्जालमा पोष्ट, सेयर, लाइक, रिपोष्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने विधेयकमा व्यवस्था गरिएको छ । यसरी जरिवाना गर्नुअघि सामाजिक सञ्जाल प्रयोगकर्तालाई सफाई पेस गर्ने मौका दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रस्तावित विधेयकमा कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिन्ह, चित्र, तस्बिर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य–दृष्य, सङ्केत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्काउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता साइबर बुलिङको कसूर गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।