काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रुपन्देहीको कालिकापथस्थित होटल न्यू ईरामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यी प्रस्तावसँगै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनसमेत सभाले गर्नेछ । भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।