काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगfमी राष्ट्रपति चुनावको रेसमा आफू नरहेको बताएका छन् । उनले आइतबार राति देश र पार्टीको हितमा चुनावी दौड परित्याग गरेको सामाजिक सञ्जाल एक्स मार्फत घोषणा गरेका हुन् ।
बाइडेनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, 'मैले राष्ट्रपति पदका लागि मनोनयन स्वीकार नगर्ने निर्णय गरेको छु। राष्ट्रपतिको हैसियतले विद्यमान जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नेछु । २०२० मा मलाई पार्टीले उम्मेदवार बनाउँदा मैले गरेकाे पहिलो निर्णय कमला ह्यारिसलाई उपराष्ट्रपतिको लागि चुन्नु थियाे। यो मैले अहिलेसम्म गरेको सबैभन्दा राम्रो निर्णय हो।'
उनले थप भनेका छन्, 'आज म हाम्रो पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा कमला ह्यारिसलाई पूर्ण समर्थन गर्न चाहन्छु। यो समय ट्रम्पलाई हराउन डेमोक्र्याटहरु एकजुट हुन पर्ने समय हो।'
आगामी राष्ट्रपतिको निर्वाचन बारे जुन २८ मा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग भएको टेलिभिजन बहसपछि बाइडेनको डेमोक्र्याटिक पार्टीका नेताहरूले उनलाई राष्ट्रपति पदकाे उम्मेदवारी त्याग्न दवाव दिँदै आएका थिए ।
पूर्व राष्ट्रपति बाराक ओबामाले पनि बाइडेनलाई राष्ट्रपतिको दौडबाट बाहिरिन आग्रह गरेका थिए। यसपछि बाइडेनले डाक्टरहरूले आफूलाई अयोग्य वा कुनै रोगबाट पीडित भएको पाए भने राष्ट्रपतिको दौडबाट बाहिरिने बताएका थिए ।
मिडिया रिपोर्टका अनुसार डेमोक्रेटिक पार्टीले छिट्टै उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने अपेक्षा गरिएको छ । उनलाई बाइडेनले पनि समर्थन गरेका छन् ।
अर्कोतर्फ डोनाल्ड ट्रम्पले बाइडेन कहिल्यै पनि राष्ट्रपति पदका लागि योग्य नभएको बताउँदै आएका छन् भने केही प्रारम्भिक सर्वेक्षणले ट्रम्प पुन: राष्ट्रपतिमा दोहोरिन सक्ने देखाएका छन्। एजेन्सी