चितवन। कालिका पावर कम्पनी लिमिटेडको नाफामा १५ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७९/८० को तुलनामा आव २०८०/८१ मा नाफा वृद्धि भएको देखिएको सोमवार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरीदविक्री सम्झौताअनुसार कम्पनीको वार्षिक आम्दानी १९ करोड १६ लाख २२ हजार ६६६ रुपैयाँ भएको कम्पनीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । ‘कम्पनी तीन करोड २८ लाख ६२ हजार ८३३ किलोवाट घण्टा विद्युत् उपलब्ध गराउन सक्ने क्षमताअनुसार आव २०८०/८१ मा कम्पनीले जम्मा तीन करोड १२ लाख पाँच हजार २९६ किलोवाट घण्टा विद्युत् उत्पादन गरी १९ करोड १६ लाख २२ हजार ६६६ रुपैयाँ वार्षिक आय गर्न सफल भएको छ,’ कम्पनीका अध्यक्ष पाण्डेले भने ।
कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भने एक करोड २५ लाख २५ हजार ६५ किलोवाट घण्टा विद्युत् उत्पादन गरेर ५ दशमलव ५२ का दरले विक्री गर्दा ६ करोड ८९ लाख ९६ हजार ७५७ रुपैयाँ आम्दानी भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ८७ करोड २८ लाख ५० हजार र चुक्तापूँजी ८७ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ । कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाको मुच्चोक र बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी सिमाना भएर बग्ने दरौंदी नदीमा ६ हजार किलोवाट क्षमताको जलविद्युत् आयोजना बनाई व्यावसायिक उत्पादन गर्दै आएको छ ।