काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । बैंकमा इमानदार, निष्ठा, समर्पण, दायित्वबोध र व्यावसायिकता साथ २० वर्षसम्म निरन्तर बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्त्वपुर्ण सेवा तथा योगदान पुर्याएबापत ३६ जना कर्मचारीलाई सम्मान गरिएको हो ।
बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृतले उनीहरूलाई सम्मान गरेका हुन् । उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य, बैंकका उच्च पदस्थ अधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकलगायत अन्य कर्मचारीहरूको उपस्थिति थियो । सम्मानित कर्मचारीहरूको ज्ञान, शीप, अनुभव र मार्गदर्शनले बैंकलाई थप बलियो बनाउने विश्वास बैंकको छ ।
उक्त कार्यक्रममा महालक्ष्मी टोस्टमास्टर क्लबको औपचारिक शुरुआतसमेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लबमा बैंकका कर्मचारीमा नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्व कला, आत्मविश्वास तथा सञ्चार कौशल अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्यसहित गठन गरिएको बताइएको छ । जेठ महीनाभर बैंकले ३१औं वार्षिकोत्सव मनाउन तय गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । यस अवसरमा आगामी दिनमा बैंकले आफ्ना ग्राहकलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।