काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८÷७९ को लागि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले वार्षिक साधारण सभाको सूचना जारी गर्दै यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने जानकारी दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६९ करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । गत वर्ष पनि कम्पनीले यस वर्षकै अनुपातमा लाभांश वितरण गरेको थियो ।
लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर, चितवनमा बिहान ११ बजे सभा आह्वान गरिएको छ । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ ।
कालिका कन्स्ट्रक्सन प्रालिअन्तर्गतको गोरखास्थित दरौदी खोलामा प्रस्तावित ८ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो दरौंदी ‘बी’ साना जलविद्युत् आयोजना र ९ दशमलव ८२ मेगावाटको माथिल्लो दरौंदी ‘सी’ साना जलविद्युत् आयोजना खरीद गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा छलफल हुनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।