काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताको दरले शेयर बाँडफाँट गरिएको छ ।
त्यसअनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाएका छन् । कम्पनीको आईपीओमा मागभन्दा १८ दशलमव ५२ गुणा बढी आवेदन परेको थियो । १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका थिए । जसमा ८९ हजार ६४० जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली भएको छ । जसमध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी रू. ६० करोड बराबरको १८ प्रतिशतले हुन आउने रू. १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । त्यसैगरी २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याई बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।