काठमाडौं । कारोबारमा आएको दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको केही बेरमै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भइरहेको छ । यसको पहिलो कारोबार ५५६ रुपैयाँमा खुला भएको थियो ।
१० प्रतिशत मूल्य बढ्दा फनि बिक्रेता देखिएका छैनन् । त्रेतामात्र देखिएका छन् । यो समचार तयार पर्दा सम्म मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २४ लाख २३ हजार ४८२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ ।
बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको यस कम्पनीको शेयर कारोबार मंगलबारदेखि सुरु भएको हो । मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाटै यसको शेयर कारोबार सुरु भएको थियो ।
कम्पनीको कायम ४ करोड ६५ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा कारोबार सुरु भएको छ ।