काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य सुधार भएको छ ।
गत आवमा कम्फनी रू. ३ करोड ९२ लाख नोक्सानीमा रहेकोमा चालू आवमा रू. ६२ लाख ८१ हजार नाफा कमाउन सफल भएको छ । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेसँगै नाफा कमाउन सफल भएको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १० करोड १५ लाख रहेकोमा चालू आवमा घटेर रू. ५ करोड १७ लाखमा झरेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. ८९ लाख ७३ हजार धनात्मक रहेको छ ।
कम्पनी नाफामा रहेसँगै गत आवमा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७० पैसा ऋणात्मक रहेकोमा चालू आवमा ४ रुपैयाँ ५८ पैसा धनात्मक छ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २८० दशमलव २४ र तरलता अनुपात १० दशमलव ०९ प्रतिशत छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ६ करोड ११ लाख छ । चुक्ता पूँजी रू. १८ करोड २८ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २६ करोड ८३ लाख र रिटेन्ड अर्निङमा रू. ६ करोड ११ लाख सञ्चिति गरेको छ ।