काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । यस दिन नेप्से परिसूचक १ दशलमव २३ प्रतिशत घटेर १ हजार ९७४ दशमलव ३७ विन्दुमा झरेको हो । पछिल्लो दुई कारोबारमा दिनमा नेप्से परिसूचक ३१ दशलमव ८९ अंक घटेको छ ।
आज रू. ३ अर्ब ७९ करोड बराबरको भएको छ । अघिल्लो कारोबार दिन भने रू. ४ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
बजारले स्पष्टरूपमा नीतिगत सुधार खोजेको लगानीकर्ता बताउँछन् । बजार सुधारका उपाय अवम्बलन नगरेसम्म नेप्से अघि नबढ्ने उनीहरूको भनाइ छ ।
लामो समयदेखि नेप्से परिसूचक २ हजार आसपासकै विन्दुबाट पुनः तल झरिरहेको देखिन्छ । बैंकमा अधिक तरलता र निरन्तर घट्दो ब्याजदरको अवस्थामा पनि बजार माथि जान नसकेपछि नीतिगत सुधार अनिवार्य रहेको जानकार बताउँछन् ।
आइतवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ३६ प्रतिशत,फ्लोट इन्डेक्स १ दशमलव २६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ६५ प्रतिशत घटेको छ ।
३१६ धितोपत्रको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ६० हजार ५२४ पटकमा रू. ३ अर्ब ७९ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी दोल्ती पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९३ पुगेको हो । त्यस्तै दोस्रोमा साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशलमव ७२ प्रतिशत बढेर रू. ८७३ पुगेको छ ।
आइतवार सबैभन्दा बढी पिपुल्स पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९२ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५५४ कायम भएको छ । त्यस्तै दोस्रोमा सिंगटी हाइड्रो इनर्जी कम्पनीका शेयर मूल्य ७ दशमलव ५५ प्रतिशत घटेर रू. १४७ मा झरेको हो ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १२ करोड ६४ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५५१ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ११ करोड ९० लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूहको सूचक २ दशमलव ६५ प्रतिशत घटेको छ भने लघुवित्त समूहको सूचक शून्य दशमलव १६ प्रतिशत बढेको छ ।