काठमाडौं । निर्माणाधीन ७० दशमलव ९७ किलोमिटरको काठमाडौं–तराई द्रुतमार्ग सम्पन्न गर्न खोकनामा भइरहेको स्थानीय अवरोध चुनौतीपूर्ण रहेको नेपाली सेनाले बताएको छ । द्रुतमार्ग निर्माणको व्यवस्थापन गर्दै आएको नेपाली सेनालाई सरकारले आयोजना हस्तान्तरण गरेको ७ वर्ष हुँदा समेत शुरू बिन्दु मानिएको खोकना क्षेत्रमा समस्या यथावत छ ।
सेनाका अनुसार खोकना क्षेत्रमा शुरू बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या छ । स्थानीयले द्रुतमार्गले मौलिक रैथाने सम्पदा नष्ट हुुने भन्दै निर्माणमा अवरोध गर्दै आएका छन् ।
खोकना इलाका, प्रवेश बिन्दु यातायात व्यवस्थापनका कार्यहरू र समयमै पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसईआईए) स्वीकृत नभए आयोजना तोकिएको समयमा सम्पन्न हुन गाह्रो हुने आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले बिहीवार पत्रकार सम्मेलनमा बताएका थिए । परियोजना सम्पन्न गर्न सरकारले पटकपटक म्याद थप्दै आएको छ । पछिल्लो म्याद २०८३ साल चैत अन्तिम तोकिएको छ ।
‘खोकना समस्या समाधानपश्चात खरीद प्रक्रिया शुरू गर्ने तयारी हालतमा हामी छौं,’ उनले भने । खोकना क्षेत्रमा ११ नम्बर प्याकेजअन्तर्गत सेनाले काम गर्न खोजेको हो । यो प्याकेजअन्तर्गत खोकना इलाकाको शून्य किलोमिटरदेखि ६ दशमलव ५ किलोमिटर पर्छ । सेनाका अनुसार यो खण्डमा कुनै प्रगति भएको छैन । त्यसबाहेक अन्य १२ ओटा निर्माण प्याकेज निर्माणको चरणमा छन् ।
नेपाली सेनाले यो खण्डको काम छाडेर अन्यमा काम गर्दै आएको छ । तर, सेनाले खोकना समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएको छ । ‘खोकना समस्या समाधानपश्चात खरीद प्रक्रिया शुरू गर्ने तयारीमा हामी छौं,’ उनले भने ।निर्माण क्षेत्रमा अवरोध भई काम रोकिँदा निर्माण व्यवसायीले थप दाबी भुक्तानी माग्न सक्ने जोखिम रहेको सेनाले औंल्याएको छ ।
खोकनाको समस्या समाधान नहुँदा उक्त खण्डमा प्रयोग गर्न ल्याइएका बेलिब्रिज प्रयोगविहीन भएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार द्रुतमार्गका लागि सेनाले ४ हजार ८११ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । ३९४ रोपनी अधिग्रहण गर्न बाँकी छ । त्यसमध्ये खोकना–बुङमती खण्डमा ३७१ रोपनी अधिग्रहण गर्न बाँकी छ । त्यसबाहेक मकवानपुरमा १९ रोपनी र काठमाडौंमा ४ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको सेनाले उल्लेख गरेको छ ।
द्रुतमार्गमा पर्ने ६ ओटा शुरूङमध्ये ३ ओटाको ८२ दशमलव ८९ प्रतिशत काम सकिएको सेनाले जनाएको छ । सेनाका अनुसार ३ दशमलव ३२ किलोमिटरको महादेओटार सुरूङको बाँकी १ किलोमिटर खन्ने काम चालू आर्थिक वर्षमै सम्पन्न हुनेछ । त्यसका लागि सेनाले रातिको समयमा समेत काम गरेको जानकारी दिएको छ । धेद्रे र लेनडाँडा सुरूङ छेडिएका छन् । सरकारले महादेओटार, धेद्रे र लेनडाँडा शुरूङमार्ग चालू आर्थिक वर्ष २०८१/८२ भित्र सक्ने लक्ष्य बजेटमा राखेको छ ।
परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)बाट थप भएका बाँकी ३ ओटा सुरूङको डिजाइन तथा पूर्वतयारीका काम भइरहेको पनि सेनाले जनाएको छ । सरकारले चालू आर्थिक वर्षमा यो परियोजनाका लागि २२ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ ।
परियोजनाको लागत २ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । द्रुतमार्गमा विभिन्न ८९ स्थानमा पुल बन्नेछन् । त्यसमध्ये हालसम्म ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा छन् । अन्य ४ स्थानका पुल भने खोकनाको जग्गा अधिग्रहण नहुँदा रोकिएका छन् । गत आर्थिक वर्षसम्ममा भौतिक प्रगति ३५ दशमलव ३८ प्रतिशत र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत भएको सेनाले जानाकारी दिएको छ ।