काठमाडौं । नेपाली सेनालाई २०७४ सालमा बहुप्रतीक्षित काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको व्यवस्थापन गर्ने जिम्मा दिँदा यो परियोजना २०७८ सालभित्र सक्ने लक्ष्य दिइएको थियो । तर, यो राष्ट्रिय गौरवको आयोजनामा हालसम्म सीमित मात्र प्रगति भएको देखिन्छ । फलस्वरूप सम्पन्न गर्न थपिएको म्याद चैत २०८३ भित्र यो परियोजना पूरा हुनेमा आशंका उत्पन्न भएको छ ।
यो आयोजनाअन्तर्गत बन्ने ६ ओटा शुरूङमध्ये एउटाको काठमाडौंबाट निजगढ जाने भाग गत शुक्रवार छेडिएको छ । नेपाली सेनाका अनुसार मकवानपुरको लेनडाँडामा बन्ने शुरूङको निजगढ जाने बाँयातर्फको १ हजार ६३३ मीटर लामो भाग छेडिएको हो । तर, काठमाडौंतर्फ आउने दाँयातर्फको शुरूङ १५० मीटर खन्न बाँकी छ । यो शुरूङ ट्वीन ट्युब टनेलका रूपमा बन्नेछ, जसको दायाँबाँया दुवै भाग नियमित गाडी गुड्न प्रयोग हुनेछ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन दु्रतमार्गको तीन स्थान महादेओटार, लेनडाँडा र धेद्रेमा शुरूङ बनाउन २०७८ वैशाख ३१ गते ठेक्का सम्झौता भएको थियो । दुईओटा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनीयरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।
चिनियाँ कम्पनीहरूले ५० अर्ब १४ करोड रुपैयाँ लगानीमा साढे ३ वर्षभित्र शुरूङसहित विशेष पुल निर्माण गर्ने गरी ठेक्का पाएका थिए । यी तीनओटा शुरूङ साढे ३ वर्षमा सम्पन्न गर्ने भनिए पनि ६ महीना म्याद बाँकी रहँदा एउटा शुरूङ छेडिएको हो । मकवानपुरकै धेद्रेस्थित शुरूङ अबको २ महीनाभित्र छेड्ने तयारी रहेको सेनासम्बद्ध स्रोतले जानकारी दिएको छ । यसको लम्बाइ १ हजार ६३० मीटर रहेको छ । धेद्रे शुरूङ अब १२९ मीटर मात्रै खन्न बाँकी रहेको सेनाले जानकारी दिएको छ ।
पहिलो चरणमा बन्ने तीन शुरूङमध्ये मकवानपुरको महादेओटार शुरूङ सबैभन्दा लामो हो । यसको लम्बाइ ३ हजार ३५५ मीटर छ । हालसम्म यसको २ हजार १५८ मीटर शुरूङ खनिसकिएको सेनाले बताएको छ । अहिलेकै गतिमा सरासर काम भए यो शुरूङ पनि ६/७ महीनामा सम्पन्न हुने सेनाका ती अधिकारीले बताए । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले प्याकेज नं २ मा पर्ने धेद्रे र लेनडाँडामध्ये १ दशमलव ६३३ किलोमीटर (किमी) लामो लेनडाँडा शुरूङमार्ग छेडिएको जानकारी दिए । यस अवधिमा दु्रतमार्गका तीनओटै शुरूङको भौतिक प्रगति ७८ प्रतिशत पुगेको उनको भनाइ छ ।
यी तीन स्थानमा निर्माणाधीन शुरूङको कुल लम्बाइ ६ दशमलव ६१८ किलोमीटर छ । नेपाली सेनाका अनुसार दु्रतमार्गमा बन्ने शुरूङसहितका पुलको पहिलो प्याकेजको लागत २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको लागत २८ अर्ब ५३ करोड रुपैयाँ छ ।
सेनाले शुरूङमार्गको दुईओटा प्याकेज बनाएर ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये प्याकेज नं. १ मा पर्ने महादेओटार शुरूङमा समस्या नभए पनि प्याकेज २ मा पर्ने धेद्रे र लेनडाँडा शुरूङमा विवाद देखिएको थियो । संघीय संसद्को सार्वजनिक लेखासमितिले शुरूङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता (पीक्यू)मै अनियमितता, प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै उक्त प्रक्रिया नै रद्द गरेर पुन: खरीद प्रक्रिया अघि बढाउन दिएको निर्देशनबीच सेनाले ठेक्का सम्झौता गरेको थियो ।
पछिल्लो विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)अनुसार थप तीनओटा शुरूङमार्ग बन्नेछन् । ती शुरूङमार्ग हाल डिजाइनको क्रममा रहेको सेनाले बताएको छ । दु्रतमार्गको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)अनुसार देवीचौर, सिसौटार र चन्द्राम भीर शुरूङमार्ग थपिएका हुन् । यी शुरूङमार्ग खरीद प्रक्रियामा जान (ठेक्का लाग्न) अझै बाँकी छ । परिमार्जित डीपीआर २०८० साउन ३० गतेको मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो । उक्त डीपीआरअनुसार शुरूङमार्ग र पुलको संख्या थपिएसँगै द्रुतमार्गको साविकको दूरीसमेत घटेको छ । साविकको दूरी ७२ दशमलव ५ किलोमीटर थियो ।
नेपाली सेनाका अनुसार दु्रतमार्गमा बन्ने ८९ पुलमध्ये हालसम्म ८५ पुल बनाउन खरीद (ठेक्का) सम्झौता भइसकेको छ । पाँचओटा पुल निर्माण भइसकेका छन् । दु्रतमार्गको शुरूबिन्दु खोकनामा पर्ने प्याकेज नं. ११ अन्तर्गतका चारओटा पुलको ठेक्का प्रक्रिया बाँकी छ । काम अझै धेरै बाँकी रहेकाले यो परियोजना थपिएको म्यादभित्र सकिनेमा आंशका छ ।
नेपाली सेनाका सेनापति प्रभुराम शर्माले गत मङ्सिरमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा परियोजना समयमै सकिने ग्यारेन्टी गर्न सकेनन् । ‘तोकिएको समयमै गाडी गुड्नका लागि ट्र्याक तयार गर्न सकिए ठूलो उपलब्धि हुन्थ्यो,’ शर्माले भनेका थिए, ‘त्यसपछि पनि परियोजना सक्न थप २–३ वर्ष लाग्नेछ ।’ उनले जग्गा प्राप्ति ऐन र वन ऐनका कारण काममा गति दिन नसकिएको बताएका थिए । ‘तपाईं सांसदहरूले समयमै सक्न सहयोग पुग्ने गरी आवश्यक कानून बनाइदिनुपर्छ । महीनौंसम्म परियोजना क्षेत्रमा पर्ने रूख काट्न सकिएन । पाँच महीनासम्म विस्फोटक पदार्थको अभाव रह्यो,’ उनले भनेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव अर्जुनजंग थापा भने परियोजनाको प्रगतिप्रति केही उत्साही देखिए । पहिला ठेक्का सम्झौता भइसकेका शुरूङमार्ग १ वर्षमा सकिने भए पनि अरू थपिएका शुरूङ निर्माण गरिसक्न अरू २/३ वर्ष लाग्ने उनले बताए । ६ महीना भए पनि म्याद थप्न समस्या नहुने भन्दै उनले पनि १ वर्ष नपुग्दै निर्माणाधीन अवस्थाका शुरूङमार्ग सम्पन्न हुन सक्ने बताए । अहिलेको रफ्तारअनुसार १ वर्ष लाग्ने उनको आकलन छ । ठेक्का प्रक्रियामा भएको ढिलाइ, खोकनाबाट रिङरोडमा जोड्ने विषय अहिलेसम्म टुंगो लाग्न नसक्दा थप समस्या हुने उनको भनाइ छ । खोकनामा स्थानीय बासिन्दाले परियोजनाले स्थानीय सांस्कृतिक सम्पदा नाश गर्ने भन्दै विरोध गरिरहेका छन् । थापाले परियोजनाका लागि पर्याप्त बजेट पनि व्यवस्था गर्नुपर्ने बताए ।
‘करीब ६० अर्ब रुपैयाँको काम भइसकेको छ, तोकिएकै समयमा दु्रतमार्ग सम्पन्न गर्न सरकारले कम्तीमा ४५/५० अर्ब रुपैयाँ यसका लागि विनियोजन गर्नुपर्छ,’ उनले भने, ‘२०८४ सालसम्म सम्पन्न हुने आशा गर्न सकिन्छ । पर्याप्त बजेट विनियोजन हुनुपर्छ, बजेट नपुगे खुद्रे योजना बन्द गरेर भए पनि दु्रतमार्गका लागि बजेट विनियोजन गर्नुपर्छ ।’
के हो ट्वीन ट्युब टनेल
जोडी शुरूङ अर्थात् ‘ट्वीन ट्युब टनेल’ नागढुंगा शुरूङभन्दा फरक हो । राजमार्ग र द्रुतमार्गमा बन्ने शुरूङ भएकाले यो प्रकृतिको शुरूङमा नागढुंगामा जस्तै उद्धार (इभ्याकुएशन) शुरूङ हुँदैन । नागढुंगामा एउटा ठूलो मुख्य शुरूङ छ । त्यसमा सवारीसाधन आवागमन मात्रै हुन्छ भने अर्काेमा सवारीसाधन हिँड्दैनन् । मुख्य शुरूङमा समस्या आए त्यसको समाधान र उद्धारका लागि मात्रै यो शुरूङ प्रयोग हुन्छ । दु्रतमार्गमा भने दुवै शुरूङको आकार बराबर हुन्छ । जोडी शुरूङमध्ये एउटाबाट तराईतर्फ जाने सवारीसाधन र अर्कोबाट काठमाडौंतिर आउने सवारीसाधन हिँड्छन् । यी शुरूङमा क्रश प्यासेज (एउटाबाट अर्कोमा जाने बाटो) भने हुनेछन् । यसले गर्दा एउटा शुरूङमा समस्या आउँदा अर्काेमा जान मिल्छ ।
शुरूङमा ट्राफिक व्यवस्थापनका लागि ‘ट्राफिक म्यानेजमेन्ट’ कार्यालय हुन्छ र त्यसले एउटा शुरूङमार्गलाई दुईतर्फी प्रयोग गर्नुपर्दा ट्राफिक व्यवस्थापन गर्छ । दुई लेनका हुने यी शुरूङमार्गमा एउटाबाट काठमाडौं र अर्काे लेनबाट निजगढतर्फ सवारी जानेछन् । ट्राफिक डाइभर्सन पनि गर्न सकिन्छ । शुरूङमा कुनै समस्या आउँदा उद्धार पनि गर्न मिल्छ ।