काठमाडौं । केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग ‘नेपाल भलिबल लिग (एनभीएल)’को लोगो र स्लोगन सार्वजनिक गरेको छ । मंगलवार एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगका लोगो र स्लोगन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए भने मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाइको नयाँ उडान’ नामक स्लोगन सार्वजनिक गरेका थिए । केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाइमा पुर्याउने लक्ष्यसहित उचाइको उडान स्लोगन राखिएको बताए ।
एनभीएलको पहिलो सिजन २०२५ को मार्च महीनामा शुरू हुनेछ । लिगमा देशभरका विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीका साथै विभिन्न अन्तरराष्ट्रिय खेलाडीको पनि सहभागिता रहने बताइएको छ । प्रतियोगिताले नेपालभरका उत्कृष्ट भलिबल खेलाडीको सहभागिता सुनिश्चित गर्ने र खेलाडीको लागि नयाँ अवसरको सृजना गर्नुका साथै नेपाली भलिबलको स्तरलाई थप नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको केडिया ग्रुपले जानकारी दिएको छ ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए । उनका अनुसार ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुने बताइएको छ । यस्तै हरेक टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी गरी १२ खेलाडी रहने बताइएको छ ।
पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ । सम्झौताअनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्ने बताइएको छ । नेपाल भलिबल लिगको माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उचाइ पुर्याउन राष्ट्रिय र अन्तरराष्ट्रिय मञ्चमा लैजाने सोच बनाएको अध्यक्ष विमल केडियाले बताए । कार्यक्रममा श्रीलंकामा भएको काभा पुरुष भलिबल प्रतियोगितामा रजत पदक जित्न सफल भएको यु–२० नेपाली राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मान गरिएको थियो ।