काठमाडौं । तोकिएको समयमा ठेक्का पूरा नगरेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरधनी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीसमेतलाई स्पष्टीकरण सोधिएको छ ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालय अन्तर्गतको भक्तपुर–नगरकोट–सिपाघाट, बालाजु–त्रिशूली/छहरे–विदुर सडक योजनाको कार्यालयले बिहीवार (आज) एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी भक्तपुर–नगरकोट–सिपाघाट सडक सुधार र स्तरोन्नतिसम्बन्धी ठेक्का समयमा पूरा नगरेको भन्दै अरावली इन्फ्रापावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि जेभीलाई स्पष्टीकरण सोधेको हो । शैलुङ निर्माण कम्पनी प्रचण्डका घरधनी अधिकारीको कम्पनी हो ।
सूचनामा स्पष्टीकरणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुनसमेत ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । उक्त निर्देशन अटेरी गरे जीसीसी क्लज १५.२ र सार्वजनिक खरीद ऐन २०६३ तथा सार्वजनिक खरीद नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कार्य सम्पादन जमानत बापतको रकम जफत गर्ने चेतावनी दिइएको छ ।
ठेक्का सम्झौता अन्त्य भएको कारणले सम्झौता बमोजिम बाँकी रहेको काम गर्न आवश्यक पर्ने रकम सरकारी बाँकीसरह असुलउपर हुने सूचनामा उल्लेख छ ।
सन् २०१४ मा भएको सडक सुधार तथा विकास आयोजना निर्देशनालय (साविकको सडक सुधार आयोजना) र अरावली इन्फ्रापावर/शैलुङ कन्सट्रक्सनबीच उक्त सम्झौता भएको थियो । उक्त सम्झौताको म्याद गत असोज १७ मा सकिएको थियो ।
सम्झौता अवधि सकिएको साढे दुई महीनापछि पनि निर्माण कार्य नसकिएपछि ठेक्का किन नतोड्ने भन्दै स्पष्टीकरण मागिएको सूचनामा उल्लेख छ ।