काठमाडौं। एसपिजि अटोमोबाइल्स प्रालि (नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीलाई ओमोडा इफाइभ डिलक्स एसयुभिसहित पुरस्कृत गरेको छ । ओमोडा एन्ड जेईको एनपिएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाई’ सह–प्रायोजक थियो ।
एनपिएलभरि ऐरीले समग्र रूपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली कप्तानको भूमिकामा रहेका थिए । प्रतियोगिताभरि ९ खेलमा जम्मा २२७ रन बनाएका ऐरीले ९ विकेट लिएका थिए । ओमोडा एन्ड जेइकोले नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्ने बताइएको छ ।
लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो । पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले बेहोर्ने बताएको छ । २०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको, अत्याधुनिक विशेषता र आकर्षक डिजाइनसहितको यो अल–इलेक्ट्रिक एसयुभिले ऐरीको उल्लेख्य प्रदर्शनको सम्मान तथा हौसलाको रूपमा काम गरेको बताइएको छ ।