राष्ट्र बैंक (राबै)ले नेपाली बैंक तथा वित्तीय (बैवि) संस्थाहरूलाई आफ्नो जात, कुल, धर्म, आकार, प्रकार आदि सबै कुरा हेरेर एकआपसमा गाभिनु अर्थात् विवाह (मर्ज) गर्नु भन्ने उर्दी पोहोर–परारतिर जारी गरेको थियो । तर पनि विवाहको मौसम मानिने मङ्सिर २०६९ सम्म आइपुग्दा केही अपवादहरूलाई छाडेर धेरै बैविहरूले वैवाहिक काम गर्ने सुर देखाएका छैनन् । राबै नै स्वयम् लमी पाएपछि त बैविहरूले एकआपसमा विवाह गर्नुपर्ने हो । तर, गरिरहेका छैनन् । किन होला त भनेर बुझ्दै जाँदा पो चाल पाइयो कि विचरा बैविहरूले विवाह गरिसकेपछि आफ्नो नाम के राख्ने भन्ने द्विविधाका कारण अड्किएका रहेछन् ।
मानौं, क र ख बैंकबीच विवाह हुँदैछ भने ‘क’ले ‘ख’को वा ‘ख’ले ‘क’ को नाम स्वीकार नगर्ने वातावरण रहेछ । हुन पनि छनोट गर्ने व्यक्तिगत स्वतन्त्रतता भएको आजको जमानामा यै नाम राख भनेर कसैले कसैलाई थोपर्न पनि नमिल्नेरहेछ । त्यस्तै, राबैको एक उर्दीअनुसार कुनै एउटा बैविले अन्य कुनै बैविसं जुध्ने नाम राख्न नपाउने हुन्छ । देशमा झण्डै अढाइ सयको संख्यामा आफ्नो स्वतन्त्र नाम भएका बैंक तथा वित्तीय संस्थाले सबै सम्भाव्य नाम ओगटिसकेका रहेछन् । अनि विवाह गर्न चाहने बैविहरूको नयाँ नाम कहाँबाट पाऊन् ? बैविहरूको नाम जुराइदिने पुरेतहरूको संख्या पनि कम हुँदै गएको जस्तो छ देशमा ।
(तीतोमीठोबाट) वर्ष ८, अंक ७९, शुक्रवार २२ मङ्सिर, २०६९