काठमाडौं । नवीकरण दस्तुर तथा रोयल्टी बुझाउन नसकेपछि खारेजी प्रकृयमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न नियामक दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।
प्रधिकरणले सूचना जारी गर्दै स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन भनेको हो । स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएको ती स्थानमा समेत सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकारणले सेवा प्रदायक कम्पनी खारेजी प्रकृयामा रहँदा सम्म सेवा सञ्चालन सहित चालु अवस्थामा हुनुपर्ने भन्दै यस्तो निर्देशन दिएको हो ।
स्मार्ट टेलिकमले चैत मसान्त भित्र सरकारलाई लाइसेन्स नबिरकण दस्तुर र बक्यौता गरि ३० अर्ब रुपैयाँ बुझाउनुपर्ने हुन्छ । तर, आजको मितिसम्म स्मार्ट टेलिकम २० अर्ब रुपैयाँ बुझाएर लाइसेन्स नबिकरण गर्न भन्दा लाइसेन्स जोगाउन अदालत मन्त्रालय लगायतका ठाउँमा चक्कर काटिसकेको छ । यदि लाइसेन्स नबिकरण नगरे स्मार्ट टेलिकमको सम्पत्ति सरकारको स्वामित्वमा आउने छ ।
दूरसञ्चार सेवा अति आवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदासम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ । स्मार्ट टेलिकमको लाइसेन्स अवधि अगामी बैशाख २ गते सकिँदै छ । तर, लाइसेन्स अवधि नसकिदै कम्पनीले सेवा बन्द गर्न थालेको प्राधिकरणमा उजुरी आउन थालेको छ ।