काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) ले लाइसेन्स खारेज भएको स्मार्ट टेलिकम प्रा.लि.को सम्पत्तिको मूल्यांकन गर्न विशेष समिति गठन गर्ने भएक छ। कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएपछि नियामकले यसको सम्पत्तिको मूल्य निर्धारण गर्ने प्रक्रिया अगाडि बढाउँदै आएको छ।
प्राधिकरणले सोमबार जारी गरेको सूचनामा समितिमा सदस्य हुन इच्छुक चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूलाई ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदकले चार्टर्ड एकाउन्टेन्सीको उपाधि प्राप्त गरेको र कम्तिमा १० वर्ष लेखापरीक्षण क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने शर्त राखिएको छ।
प्राधिकरणले स्मार्टको सम्पत्ति लिलाम गर्न यसअघि पनि मूल्यांकन गर्ने प्रयास गरेको थियो। तर, समिति गठनका लागि आवश्यक योग्यता पूरा गर्ने आवेदकको अभावले यो कार्य अवरुद्ध भएको थियो।
स्मार्ट टेलिकमले अर्बौं रुपैयाँ बाँकी रहेको सरकारी ऋण तथा लाइसेन्स नवीकरण शुल्क तिर्न नसकेपछि गत वर्ष वैशाखमा यसको लाइसेन्स स्वतः रद्द भएको थियो। त्यसपछि प्राधिकरणले कम्पनीको सम्पत्ति व्यवस्थापन गर्ने प्रयास गरे तापनि मूल्य निर्धारण समिति गठनमा ढिलाइ भइरहेको थियो। सरकारले लाइसेन्स बहाल नभएका सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेपछि यो प्रक्रिया पुनः सक्रिय भएको हो।
आवश्यक कागजात र प्रक्रिया:
नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि (नोटरी पब्लिकद्वारा प्रमाणित)।
हस्ताक्षरित व्यक्तिगत विवरण (बायोडाटा)।
शैक्षिक प्रमाणपत्र र कार्य अनुभव पुष्टि गर्ने कागजात।
स्मार्ट टेलिकमसँग कुनै संलग्नता नरहेको स्वघोषणा पत्र।
आवेदनका लागि सम्पूर्ण कागजात सिलबन्दी गरी नेपाल दूरसञ्चार प्राधिकरणको जमल स्थित कार्यालयमा बुझाउनुपर्नेछ।